
नेपाल पत्रकार महासंघले अनलाइन सञ्चारमाध्यमको दर्ता तथा नवीकरण प्रक्रिया तत्काल सुरु गर्न माग गर्दै आन्दोलनको घोषणा गरेको छ। महासंघले माग पूरा नभए १३ भदौदेखि सूचना तथा प्रशारण विभागमा कालो ब्यानरसहित धर्ना दिने चेतावनी दिएको छ।
सोमबार बसेको महासंघको डिजिटल मिडिया विभागको बैठकले सरकारले करिब एक महिनादेखि अनलाइन मिडियाको दर्ता तथा नवीकरण कार्य ठप्प पारेकोप्रति आपत्ति जनाउँदै सूचना तथा प्रविधि मन्त्रालयलाई ज्ञापनपत्र बुझाउने निर्णय गरेको हो।
विभागका संयोजक प्रकाश धौलाकोटीका अनुसार सरकारको निर्णयले प्रेस प्रतिनिधि प्रमाणपत्र नवीकरणमा समस्या आएको छ भने चाडपर्व नजिकिँदै गर्दा विज्ञापन कारोबारसमेत प्रभावित भएको छ।
महासंघकी अध्यक्ष निर्मला शर्माले अनलाइन सञ्चारमाध्यमको दर्ता तथा नवीकरण तत्काल सुचारु हुनुपर्ने स्पष्ट पारिन्।
यस्सतै उपाध्यक्ष उमिदप्रसाद बागचन्दले सरकारले कानुनका नाममा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता नियन्त्रण गर्ने प्रयास गरिरहेको आरोप लगाए।
महासचिव रामप्रसाद दाहालले सरकारले अनलाइन सञ्चारमाध्यमको दर्ता तथा नवीकरण रोक्दै असंवैधानिक कार्य गरेको बताए। उनका अनुसार यो निर्णयले नागरिकको संवैधानिक हक अवरुद्ध भएको छ ।
गत २० साउनदेखि लागू भएको छापाखाना तथा प्रकाशनसम्बन्धी ऐन संशोधनपछि अनलाइन मिडियाको दर्ता र नवीकरण प्रक्रिया रोकिएको हो। महासंघले सरकारको यो कदमलाई प्रेस स्वतन्त्रता तथा नागरिक अधिकारमाथिको हमला भनेको छ।