काठमाडौं, भदौ ११ :

शिक्षक दरबन्दी स्थानीय तहमा हस्तान्तरण गर्नेलगायतका विधेयकप्रति असहमति जनाउँदै नेपाल शिक्षक महासंघले आन्दोलन अघि बढाएको छ।  महासंघले पहिलो चरणको आन्दोलन अन्तर्गत बुधबार नेपाली कांग्रेसको सानेपास्थित पार्टी कार्यालयमा धर्ना दिएको हो।

धर्ना दिँदै महासंघले ध्यानाकर्षण पत्र पनि बुझाएको छ। आन्दोलनको सिलसिला बिहीबार एमालेको केन्द्रीय कार्यालय च्यासल र शुक्रबार माओवादी केन्द्रको पेरिस डाँडास्थित कार्यालयमा धर्ना कार्यक्रमसहित अगाडि बढ्नेछ।

महासंघले अस्थायी शिक्षकलाई ७५ प्रतिशत आन्तरिक प्रतिस्पर्धाबाट स्थायी गर्नुपर्ने, स्थायी शिक्षकको आवधिक बढुवा हुनुपर्ने लगायत मागहरू अघि सारेको छ। माग पूरा नभए भदौ २१ गतेदेखि विद्यालय बन्द गर्ने चेतावनी समेत दिएको छ।

पहिलो चरणको आन्दोलन अन्तर्गत पालिका, जिल्ला, प्रदेश र केन्द्रस्तरसम्म ध्यानाकर्षण पत्र बुझाउने, पार्टी कार्यालय घेराउ गर्ने कार्यक्रम घोषणा गरिएको छ।