
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले शिक्षा क्षेत्रमा संखुवासभा अब्बल जिल्लाका रुपमा स्थापित रहँदै आएको दाबी गरेका छन् ।
स्रोत र साधनका हिसाबले अत्यन्तै सबल र सम्पन्न जिल्ला भएको भन्दै शिक्षा क्षेत्रमा मादी माविले पुर्याएको योगदान अतुलनीय रहेको चर्चा गरे ।
संखुवासभाको मादी नगरपालिकास्थति मादी माविको हीरक महोत्सवमा उनले देशमै पहिलोपटक आयुर्वेदिक विश्वविद्यालयका रुपमा योगमाया आयुर्वेदिक विश्वविद्यालयको स्थापनाले जिल्लाको पहिचान थप उचाइमा पुगेको धारणा राखे ।
मन्त्री खड्काले ऊर्जा क्षेत्रको दृष्टिले संखुवासभामा पाँच हजार मेगावाटभन्दा बढी विद्युत उत्पादन गर्न सक्ने क्षमता भएकाले सबै एकजुट भएर विकास निर्माणमा लाग्नुपर्नेमा जोड दिए ।
उनले पर्यटकीय दृष्टिले समेत मकालु हिमाल, अरुण उपत्यकादेखि थुप्रै पर्यटकीय स्थान भएकाले यसको विकासमा दलीय राजनीतिभन्दा माथि उठेर काम गर्न आग्रह गरे । चीन र भारतजस्ता दुई छिमेकी राष्ट्रलाई जोड्ने किमाथांका नाकाको विकासमा आफू जुटेको उनको भनाइ छ ।
कार्यक्रममा अवसरमा विद्यालयमा विभिन्न कालखण्डमा योगदान पुर्याउने व्यक्तित्वलाई सम्मान गरिएको थियो ।