काठमाडौं, भदौ १३ :

दक्षिण एसियाली फुटबल महासङ्घ साफ १७ वर्षमुनिका महिला सम्मिलित प्रतियोगिता यु १७ च्याम्पियनसिप अन्तर्गत आज नेपाल र भारतबीच प्रतिस्पर्धा हुँदैछ ।

नेपाली समयअनुसार खेल आज अपराह्न ६ बजे हुने अखिल नेपाल फुटबल सङ्घले जनाएको छ । डबल राउन्ड रोबिन लिगमा जारी प्रतियोगितामा भारत १२ अङ्कका साथ पहिलो स्थानमा छ भने तीन अङ्कका साथ नेपाल तेस्रो स्थानमा छ ।

घरेलु मैदानमा कुनै जित ननिकालेको भुटान चौथो स्थानमा छ । नौ अङ्कका साथ बङ्गलादेश दोस्रो स्थानमा छ । प्रतियोगितामा  चार देश सहभागी छन् ।

खेल तालिकाअनुसार यही भदौ १५ गते भुटानसँग नेपाल भिड्ने छ । उपाधि जित्ने होडबाट भने नेपाल बाहिरिएको छ ।