
नेपाल सरकारले मुगुस्थित मुगुम कार्मारोङ गाउँपालिकामा ‘छायानाथ राष्ट्रिय निकुञ्ज’ स्थापना गर्ने निर्णय गरेको छ ।
मन्त्रिपरिषद्को शुक्रबार बसेको बैठकले वन तथा वातावरण मन्त्रालयको प्रस्तावमा यस्तो निर्णय गरेको वनमन्त्री ऐनबहादुर शाही ठकुरीले जानकारी दिए । मुगुमा २०३२ सालमा रारा राष्ट्रिय निकुञ्ज स्थापना भएको करिब ५० वर्षपछि वनमन्त्री शाहीको पहलमा सरकारले दोस्रो छायानाथ राष्ट्रिय निकुञ्ज स्थापना गर्ने निर्णय गरेको हो । उक्त राष्ट्रिय निकुञ्ज नेपालकै कान्छो निकुञ्जका रुपमा चिनिने भएको छ ।
डोल्पाको शे-फोक्सुन्डो राष्ट्रिय निकुञ्जसँग जोडिएको मुगुम कार्मारोङ गाउँपालिकाको डोल्फु क्षेत्रको करिब ९०६ वर्गकिलोमिटर भू-भागलाई मात्र अलग गरेर छायानाथ राष्ट्रिय निकुञ्ज स्थापना गरिएको हो । डोल्फु क्षेत्रका बासिन्दालाई कामका लागि शे-फोक्सुन्डो राष्ट्रिय निकुञ्ज जान र आउन करिब एक साता पैदल समय लाग्ने भएको स्थानीयको दुःख तथा पीडा बुझेर छायानाथ राष्ट्रिय निकुञ्ज स्थापनाको पहल गरिएको मन्त्री शाहीले बताए ।
‘छायानाथ राष्ट्रिय निकुञ्ज’ कार्मारोङ गाउँपालिका १ मा पर्छ । मुगुम कार्मारोङ गाउँपालिकाले पनि शे-फोक्सुन्डो राष्ट्रियसँग जोडिएको भूभागलाई छुटयाएर अलग निकुञ्ज बनाइदिन मन्त्री शाहीसँग माग गरेको थियो । योसँगै अब नेपालमा राष्ट्रिय निकुञ्जको सङ्ख्या १३ पुगेको छ ।