काठमाडौं, भदौ १५ :

यमनको हुती विद्रोही समूहले आफ्नो स्वयं-घोषित प्रधानमन्त्री अहमद घालेब नासिर अल-राहावी यसै हप्ताको सुरुमा भएको इजरायली हवाई आक्रमणमा मारिएको पुष्टि गरेको छ।

ईरान समर्थित यस समूहले भन्यो कि इजरायल डिफेन्स फोर्सले बिहीबार यमनको राजधानी सानामा लक्षित आक्रमण गर्दा अरू धेरै वरिष्ठ अधिकारीहरू पनि मारिएका थिए।

फोर्सले ले भनेको छ कि राहावी र अन्य वरिष्ठ हुती अधिकारीहरूलाई सानाको क्षेत्रमा भएको एउटा भेला लक्षित गर्दै इजरायली लडाकु विमानहरूबाट आक्रमण गरेको थियो ।

हुतीहरूले २०१४ देखि यमनको उत्तर-पश्चिमी भूभागको ठूलो भाग नियन्त्रणमा राखेका छन्। त्यस वर्ष उनीहरूले अन्तर्राष्ट्रिय रूपमा मान्यता प्राप्त सरकारलाई सानााबाट हटाउँदै यमनमा विनाशकारी गृहयुद्ध सुरु गरेका थिए।

हुतीहरूले भनेका छन् कि राहावीसँगै केही मन्त्रीहरू पनि मारिएका छन् तर अन्यको नाम खुलाएका छैनन्।

साउदी अरबको समाचार साइट अल-हदाथका अनुसार हुती परराष्ट्र मन्त्री, न्याय मन्त्री, युवा तथा खेलकुद मन्त्री, सामाजिक मामिला तथा श्रम मन्त्री पनि मारिएका छन्।

हुतीका राष्ट्रपति महदी अल-मसहतको कार्यालयले भनेको छ कि आक्रमणमा अरू केही मन्त्रीहरू  गम्भीर  घाइते भएका छन्।

यसैबीच हुतीका उप-प्रधानमन्त्री मुहम्मद अहमद मिफ्ताहलाई राहावीको स्थानमा नियुक्त गरिएको छ।

राहावी अगस्ट २०२४ देखि प्रधानमन्त्रीको पदमा थिए र उनी सैन्य कारबाहीको योजना बनाउने शीर्ष निर्णयकर्ता मण्डलको सदस्य नभई मुख्यतः प्रतीकात्मक नेताका रूपमा चिनिन्थे।

हुती नेता अब्दुल-मलिक अल-हुती, समूहका रक्षा मन्त्री र प्रमुख सेनापतिहरू भने बिहीबारको आक्रमणमा मारिएको सूचिमा छैनन्।

फोर्सले शनिबार बेलुकी जारी गरेको वक्तव्यमा भनेको छ कि यस आक्रमणलाई उसले "सूचना प्राप्त भएको केही घण्टाभित्रै" सञ्चालन गरेको हो।

उसले यो कारबाहीको पूर्ण प्रभावबारे अझै मूल्याङ्कन भइरहेको जनाएको छ।

इजरायल र हमासबीच गाजामा युद्ध सुरु भएपछि हुतीहरूले नियमित रूपमा इजरायलतर्फ क्षेप्यास्त्र प्रहार गर्दै आएका छन् र रातो सागर र एडन उपसागरमा व्यापारी जहाजहरूलाई निशाना बनाउँदै आएका छन्।

उनीहरूले आफूहरूले गरेको आक्रमण फिलिस्तिनीहरूप्रति ऐक्यबद्धता स्वरूप भएको बताएका छन्।