
नेपाल राष्ट्र बैंकले दसैंको अवसरमा सर्वसाधारणलाई आगामी भदौ २९ गतेदेखि सुकिला नोट वितरण गर्ने भएको छ।
राष्ट्र बैंकको केन्द्रीय कार्यालय थापाथलीसहित देशभरका सातवटै प्रादेशिक कार्यालय (विराटनगर, जनकपुर, वीरगञ्ज, पोखरा, सिद्धार्थनगर, नेपालगञ्ज र धनगढी) बाट एकैसाथ सटही सेवा प्रदान गरिनेछ।
यसपटक पनि राष्ट्र बैंकले ५, १०, २०, ५० र १०० दरका सुकिला नोट सर्वसाधारणलाई उपलब्ध गराउनेछ। तर, ५ रुपैयाँ दरका सुकिला नोट पर्याप्त नभएकाले सो दरमा नयाँ नोट वितरण गरिने जनाएको छ।
वितरण कार्यलाई सहज बनाउन वाणिज्य बैंक, विकास बैंक तथा फाइनान्स कम्पनीका शाखामार्फत पनि नोट सटहीको व्यवस्था गरिएको छ। एक व्यक्ति एक/एक बन्डल (५० वटा नोट) सटही गर्न पाउने व्यवस्था गरिएको भए पनि नागरिकको माग अनुसार आवश्यकता हेरी बढी रकम सटही गर्न पनि सकिने व्यवस्था मिलाइएको राष्ट्र बैंकले जनाएको छ ।
राष्ट्र बैंकले गत वर्षदेखि नयाँ नोटको सट्टा सुकिला नोट वितरण गर्ने नीति लागू गर्दै आएको छ। डिजिटल कारोबारको प्रवृत्ति बढेसँगै ढुकुटीमा थुप्रिएका सुकिला नोटको व्यवस्थापन चुनौतीपूर्ण बनेकाले सुकिला नोट पुनः प्रयोगमा ल्याउने निर्णय गरिएको हो।
दसैं, तिहार तथा छठ जस्ता चाडपर्वका अवसरमा राष्ट्र बैंकले हरेक वर्ष सूचना प्रकाशित गरी सटही सुविधा दिने गरेको छ ।