काठमाडौं, भदौ १७ :

सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले नेपालले श्रम सम्झौता गरेका सबै मुलुकसँग हुलाक सेवासम्बन्धी सम्झौता अनिवार्य गर्नुपर्ने बताएका छन्।

काठमाडौंमा मंगलबार आयोजित एक कार्यक्रममा बोल्दै उनले हुलाक सेवाको विश्वास र प्रभावकारिता बढाउन यस्तो सम्झौता आवश्यक रहेको स्पष्ट पारे। मन्त्री गुरुङले भने, ‘जहाँ जहाँ नेपाली काम गर्न गएका छन्, ती सबै देशमा हुलाकको व्यवस्था हुनुपर्छ।’

उनका अनुसार नेपाली नागरिक बसोबास गर्ने सबै देशसँग हुलाक सम्झौता गरेर मात्र हुलाक सेवा भरपर्दो र प्रभावकारी बन्न सक्छ। उनले हुलाक सेवा विस्तारका लागि सरकारको तर्फबाट आवश्यक कदम चालिने बताए।

मन्त्री गुरुङले हुलाक सेवा विभागको बक्यौता भुक्तानीका लागि अर्थ मन्त्रालयसँग पहल गर्ने प्रतिबद्धता पनि जनाए। उनले भने, ‘हामीले हुलाकलाई राम्रो संस्था बनाउन चाहन्छौं भने विदेशमा रहेका नेपालीसम्म सेवा पुर्‍याउनैपर्छ।’