
काठमाडौँको गोंगबुबाट पौने चार करोड रुपैयाँ नगद र सुनका गहनासहित गोरखाका ७७ वर्षीय विनोदकुमार श्रेष्ठ पक्राउ परेका छन्। प्रहरीले उनी मिटर ब्याजमा रकम लगाउने गरेको खुलासा गरेको छ।
काठमाडौँ महानगरपालिका–२६ गोंगबुस्थित श्रेष्ठको घरमा मंगलबार दिउँसो प्रहरीले छापा मारेको हो। विशेष सूचनाको आधारमा उपत्यका अपराध अनुसन्धान कार्यालय रानीपोखरीको विशेष टोलीसहित काठमाडौँ जिल्ला प्रहरी परिसर र महाराजगञ्ज प्रहरी वृत्तको टोली परिचालित भएको थियो।
प्रहरीले श्रेष्ठको घरबाट हालसम्म झण्डै पौने चार करोड रुपैयाँ नगद बरामद गरिसकेको छ। साथै सुनका गहना पनि फेला परेका छन्।
उपत्यका प्रहरी कार्यालय, रानीपोखरीका प्रवक्ता एसपी शेखर खनालका अनुसार श्रेष्ठले विभिन्न व्यक्तिहरूलाई सुन धितोमा लिएर मिटर ब्याजमा पैसा दिने गरेको खुलेको छ।
अहिलेसम्म मोटामोटी उनको घरबाट बरामद रकम पौने चार करोडजति छ। प्रहरीले अहिले पनि पैसा गनिरहेको छ। सुन पनि बरामद भएको छ। यस घटनासँग सम्बन्धित थप अनुसन्धान जारी रहेको प्रहरी स्रोतले जनाएको छ।