
चिनियाँ नेता सी चिनफिङ, रुसका राष्ट्रपति भ्लादिमिर पुटिन र उत्तर कोरियाका नेता किम जोङ उन राजधानी बेइजिङको मुटुमा आयोजना गरिएको भव्य सैनिक परेडमा सहभागी भएका छन्।
यो कार्यक्रममा २६ वटा राष्ट्र प्रमुखहरू सहभागी भएका छन्।
सी,पुटिन र किम एउटै कार्यक्रममा भेटिएको यो पहिलो पटक हो ।
विश्लेषकहरूले यो कार्यक्रममा नयाँ हाइपरसोनिक मिसाइलहरू,चालकविहीन पानीमुनि चल्ने ड्रोनहरू र लडाकु विमानहरू प्रदर्शनीमा देखाइने अपेक्षा गरेका छन्।
सीका लागि आफ्नो कूटनीतिक प्रभाव र अमेरिकालाई चुनौती दिने चीनको बढ्दो क्षमता देखाउने अवसर हो।
यो कार्यक्रम विश्वयुद्ध दोस्रोमा जापानको औपचारिक आत्मसमर्पण र चीनको विजयको ८० औँ वार्षिकीको अवसरमा आयोजना गरिएको हो ।
यसका लागि केन्द्रीय बेइजिङ पूर्ण रूपमा बन्द गरिएको छ।
जब यी तीन नेताहरू एउटै तस्वीरमा देखिए यसलाई अमेरिकी नेतृत्वको विश्वव्यवस्थामा प्रत्यक्ष चुनौतीका रूपमा हेरिएको छ।
१० हजार भन्दा बढी सैनिक र सयौँ अत्याधुनिक हतियारसहितको यो परेडले सीको नेतृत्वमा चीनको बढ्दो सैन्य शक्ति र विश्वकै सबैभन्दा ठूलो स्थायी सेनालाई आधुनिक बनाउने उनको प्रयासलाई प्रदर्शन गर्नेछ।