
न्यायिक समिति र महिला सञ्जालको सक्रियताले समाजमा द्वन्द्व घट्यो, मेलमिलाप बढ्यो, अदालतमा आउने उजुरी र मुद्दाहरु पनि कमी हुँदै गएका छन् । काठमाडौं महानगरपालिकाले गठन गरेको न्यायिक समिति र महिला सञ्जालको प्रभावकारिता बढ्दै गएको पाइएको छ । सामाजिक मेलमिलाप कायम गर्ने उदेश्यले सबै वडामा गठन गरिएको महिला महिला सञ्जाल र न्यायिक समितिको प्रभावकारीता बढ्दै गएको समिति सदस्य आशा श्रेष्ठ रौनियारले बताएकी छिन् ।
न्यायिक समिति र महिला सञ्जालको मुख्य उद्देश्य भनेको मेलमिलाप नै हो। कुनै पनि द्वन्द्वको निरूपण गर्ने विधि भनेको मेलमिलाप नै हो । महिला सञ्जालमा पुरुष र महिलामा कुनै पनि किसिमको विभेद नगरी न्याय निरूपण गर्ने गरिन्छ ।
काठमाडौं महानगरपालिका वडा नम्बर ११ का (जनप्रतिनिधि) समेत रहेकी सदस्य रौनियारले महिला सञ्जाल र न्यायिक समितिको काम,कारबाही र प्रभावकारिताको विषयमा चासो व्यक्त गरेकी छिन् । यसै सन्दर्भमा प्रस्तुत छ- सक्रिय न्युजका लागि रौनियारसँग गरिएको कुराकानीको सम्पादित अंश :
काठमाडौं महानगरपालिकामा गठित महिला सञ्जाल र न्यायिक समितिको काम के हो ?
न्यायिक समिति र महिला सञ्जालको मुख्य उद्देश्य भनेको मेलमिलाप नै हो । कुनै पनि द्वन्द्वको निरूपण गर्ने विधि पनि मेलमिलाप नै भएकोले मेलमिलाप गराउनका लागि हरेक वडावडामा यी समिति गठन गरिएको छ । महिला सञ्जालमा पुरुष र महिलामा कुनै पनि किसिमको विभेद नगरी न्याय निरूपण गर्ने गरिन्छ ।
यी समिति किन आवश्यक छन् ?
न्यायिक समिति र महिला सञ्जाल समाजमा उत्पन्न स-साना समस्या पनि ठुलो रुप लिन जान सक्छन् । समाजमा हुने द्वन्द्व व्यवस्थापन गर्नु स्थानीय सरकार वडातहको जिम्मेवारी पनि हो । त्यसकारण स्थानिय सरकारलाई जिम्मेवार र जवाफदेही बनाउन र समाजमा हुने द्वन्द्व तथा समस्यालाई अदालतसम्म पुग्न नदिइकन समाज वा वडा तहमै समाधान गर्नु हितकर हुन्छ । त्यसका लागी यी समितिहरुको आवश्यकता छ ।
अहिले यी समितिमार्फत समाजमा के काम कस्ता काम भैरहेका छन् र प्रभावकारिता कस्तो छ ?
प्रभावकारिता निकै बढ्दो छ, समाजमा हुने द्वन्द्व समाधानमा सहजता मिलिरहेको छ । कतिपय परिवारभित्रै दबेर रहेका समस्याहरु पनि बाहिर आएका छन् भने समाधान पनि भएका छन् । विभिन्न तहबाट थिचोमिचोमा परेका महिलाहरुले न्याय पाउने वातावरण बनेको छ । अर्कातिर वडा तहबाट यी समस्याहरु समाधान हुँदा अदालतमा जाने मुद्दाहरुमा पनि कमी आएको छ । भने विगतमा जुन वर्ग शोषण र थिचोमिचोमा अगाडी थियो त्यो वर्ग पनि आँफै सचेत बनेर त्यस्ता कार्यमा सतर्क बनेको छ ।
न्यायिक समितिले कसरी काम गर्दै आएको छ ?
न्यायिक समितिले खासगरी समाजका कुनै पनि मुद्दालाई वडा तहबाटै समाधान गर्ने प्रयास गर्छ । यदि त्यहाँ समाधान हुन नसकेका मुद्दा महानगरमा आउँछन् । र त्यहाँ निशुल्क कानुनी परामर्शको व्यवस्था पनि छ। त्यसपछी प्रत्येक हप्ताको सोमबार महानगरमा इजलास पनि बस्छ । उक्त इजलासमार्फत हरेक समस्या तथा मुद्दाको निरुपण गर्ने गरिन्छ।
अहिले समाजमा खासगरी कस्ता समस्या बढी छन् ?
अहिले समाजमा पारिवारिक भन्दा पनि बढी आर्थिकसँग सम्बन्धित समस्या बढी देखिन्छन् । सहकारीले रकम हिनामिना गरेका, सहकारी, लघुवित्तजस्ता वित्तिय संस्थाले भाडा नतिरि ताला लगाएर भागेका, घरभाडासम्बन्धी समस्याहरु व्याप्त देखिन्छन् । ती समस्या पनि कानुनी पाटोबाटै सहजिकरण र समाधान गर्दै आएका छौं । न्यायिक समिति र महिला सञ्जालको काम र भूमिकाले सामाजिक कृयाकलापमा महिला अग्रसर भएका छन् ।
सहभागितामा कत्तिको प्रभाव पारेको छ ?
मुलतः अझै पनि पूर्णरुपमा आम सर्वसाधारणको तहमा यसबारे जानकारी पुनै बाँकी छ । तर जतिमा पुगेको छ । उनीहरुमा यसको प्रभावकारिता , उदेश्य, काम कारबाहीको बारेमा प्रयाप्त ज्ञान छ । तसर्थ यसले समाजमा महिला सहभागिता वृद्धि गरेको छ । नेतृत्वदायी भूमिकामा पनि अग्रसर बनाएको छ । र नेतृत्वमा पुगेका महिलाहरुको कार्यकुशलामा पनि अब्बल देखिन्छन् ।
महिला सञ्जालप्रति पुरुष नेतृत्वको दृष्टिकोण कस्तो छ ?
एकदम सकारात्मक छ । समाजमा उत्पन्न द्वन्द्व अन्त्य गर्न यी समिति जागरुक हुने भएपछि नेतृत्व तहलाई पनि सहज बनाएको छ । जसले महिला हाम्रो पुरुष प्रधान समाज भएपनि महिला सञ्जाल र न्यायिक समितिको काम र योगदानले काठमाडौं महानगरपालिकाका अन्य काम हरुमा पनि सहजता भैरहेको छ ।
महिला सञ्जालले महिलाहरुका हक अधिकारका कुरा उठाउँदै गर्दा कतै पुरुषहरु पिडित त बनेका छैनन् ? यसतर्फ कत्तिको सचेत हुनुहुन्छ ? यसतर्फ हामी निकै सचेत छौं । समाजमा मेलमिलापको वातावरण निर्माण गर्दै महिला र पुरुषबीचको विभेद अन्त्य गर्न यी समिति स्थापना गर्नु परेको हो ।
त्यसकारण सञ्जालमा काम गर्दाखेरी यी समितिले पुरुषमाथि कुनै पनि किसिमको विभेद नहुने गरी काम गरिरहेका छन् । न्यायिक समिति र महिला सञ्जालको मुख्य उद्देश्य भनेको मेलमिलाप नै हो । एकपक्षीय हुदा मेलमिलाप हुन सक्दैन भन्नेमा हामी सचेत छौं ।
तपाईंलाई यो क्षेत्रमा लाग्न कसरी प्रेरणा प्राप्त भयो ?
मलाई सामाजिक कार्यमा लाग्न लौहपुरुष गणेशमान सिंह र उहाँकी धर्मपत्नी मंगलादेवी सिंहबाट प्रेरणा मिलेको हो । म बाल्यकालमा पनि मंगलादेवीको कार्य नजिकबाट देख्ने र महसुस गर्ने अवसर पाँए । त्यसपछि उहाँहरुकै कर्मलाई निरन्तरता दिउँ भन्ने लागेर सामाजिक कार्य र नेतृत्वतर्फ उन्मुख भए । जुनबेलामा मलाई मंगलादेवीले सुझाव र हौसला दुवै दिनुहुन्थ्यो ।
उहाँहरुको योगदान र समाजमा उत्पन्न हरकुनै समस्या पनि प्राथमिकतामा पर्ने गर्दथे । विभेद र द्वन्दरहित समाज निर्माणमा उहाँहरुको भुमिका अतुलनीय थियो । जसकारण उहाँहरुकै प्रेरणा नै मेरो आजसम्मको सक्रियता र सफलता हो ।
तपाईंको आगामी योजना के छ ?
मेरो आगामी योजना भनेको पनि सामाजिक कार्यमा सक्रियता नै हो । किनकी समाजमा यति लामो समय व्यतित गरिसकेकी छुँ । जसले समाजमा केही सकारात्मक भूमिका पनि निर्वाह गरेजस्तो लाग्छ । र, अझै धेरै गर्न बाँकी छ जस्तो पनि लाग्छ । त्यसअर्थमा म आगामी दिनमा थप माथिल्लो तहको नेतृत्व र जिम्मेवारी लिएरै समाजप्रति थप जिम्मेवार बन्ने हुटहुटी छ । काठमाडौं महानगरपालिकाको न्यायिक समिति र महिला सञ्जालकी सदस्य रौनियार काठमाडौं महानगरपालिका वडा नम्बर ११ मा दोश्रो कार्यकालका रुपमा निर्वाचित महिला सदस्य हुन् ।