
राति अबेर वा बिहान सबेरै प्रेसर कुकरमा सिठ्ठी लगाउनेलाई जरिबाना गरिने भएको छ। काठमाडौँ उपत्यका प्रहरी कार्यालय, रानीपोखरीले ध्वनि प्रदूषण नियन्त्रण गर्ने अभियान अन्तर्गत यस्तो अनुरोध गरेको हो।
प्रहरीले ध्वनि, धुँवा र फोहोर प्रदूषणमुक्त छिमेकी अभियान सुरु गर्दै सर्वसाधारणलाई यस्ता कार्यबाट टाढा रहन आग्रह गरेको छ। अभियानको उद्देश्य गर्भवती, मुटुरोगी, वृद्धवृद्धा र बालबालिकाको मानसिक तथा शारीरिक स्वास्थ्यलाई नकारात्मक असरबाट जोगाउनु हो।
प्रहरी कार्यालयले जारी गरेको सूचनामा, प्रेसर कुकरको सिठ्ठीजस्तै सानोतिनो ध्वनिले पनि सामाजिक, आर्थिक क्रियाकलाप र नैतिक मान्यतामा असर पार्ने उल्लेख गरिएको छ।
यस्ता आवाजले छिमेकीबीचको सम्बन्धमा समेत प्रतिकूल प्रभाव पार्ने भएकाले घर, परिवार र समाजको हितका लागि सतर्क रहन आग्रह गरिएको छ। साथै, राति अबेर शौचालय फ्लस गर्दा आवाज कम गर्न, भान्साका भाँडाकुडा नठोक्काउने, र राति ठुलो स्वरले गफ नगर्नसमेत प्रहरीले अनुरोध गरेको छ।