
बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामाले बागमती प्रदेशलाई खेलकुदमैत्री बनाउन सरकार प्रतिबद्ध रहेको बताउनुभएको छ ।
संविधान दिवस तथा राष्ट्रिय दिवस २०८१ का अवसरमा प्रदेशस्तरीय दिवस मूल समारोह समिति तथा बागमती प्रदेश सरकारको युवा तथा खेलकुद मन्त्रालय, प्रदेश खेलकुद विकास परिषद्ले संयुक्त रूपमा आयोजना गरेको मैत्रीपूर्ण भलिबल प्रतियोगिताको आज हेटौँडामा उद्घाटन गर्दै मुख्यमन्त्री लामाले खेलकुद क्षेत्र सरकारको प्राथमिकतामा रहेको बताउनुभएको हो ।
खेलकुद राष्ट्रको गहना र पहिचान समेत स्थापित गराउने भएकाले प्रदेशलाई खेलकुदको दृष्टिकोणले अग्रणी प्रदेश बनाउन आफू प्रयत्नशील रहेको बताउनुभयो ।
युवालाई खेलकुदमा सहभागी गराउँदा कुलतबाट जोगाउन सकिने भएकाले खेलकुदलाई अझ प्रभावकारी बनाउनुपर्ने उहाँको भनाइ थियो ।
कार्यक्रममा बागमती प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुनमन्त्री सुरजचन्द्र लामिछानेले समाज र राष्ट्रलाई जोड्न खेलकुद क्षेत्रको महत्त्वपूर्ण योगदान रहेको चर्चा गर्दै खेलकुद क्षेत्रको विकासका लागि सरकार प्रयत्नशील रहेको बताउनुभयो ।
असोज १ देखि ४ गतेसम्म विविध कार्यक्रम गरी संविधान दिवस मनाउने प्रदेशस्तरीय मूल समारोह समितिको निर्णयानुसार आयोजना गरिएको मैत्रीपूर्ण भलिबल प्रतियोगितामा मुख्यमन्त्री कार्यालय, विभिन्न स्थानीय तह, नेपाल पत्रकार महासङ्घलगायत १३ टिमको सहभागिता रहेको आयोजक प्रतियोगिता तथा खेलुकुद शाखा प्रमुख दुर्गाप्रसाद दुलालले जानकारी दिनुभयो ।
दुई दिनसम्म चल्ने प्रतियोगिताका विजेता र उपविजेतालाई असोज ३ गते मूल समारोह कार्यक्रममा पुरस्कार तथा प्रमाणपत्र वितरण गरिने आयोजकले जनाएको छ ।