
जेनजी आन्दोलनका क्रममा भदौ २४ गते काठमाडौंसहित मुख्य सहर सबै रणभूमिमा परिणत भयो। आन्दोलनको टार्गेटमा सुरुमै पर्यो ‘भाटभटेनी सुरपरमार्केट’।त्यसमाथि पनि एक दुईवटा होइन, देशभरका करिब दुइदर्जन भाटभटेनी सुरपरमार्केट क्षतिविक्षत, तहसनहस र खरानी बने। त्यसदिन देशभर सञ्चालित २८ वटा भाटभटेनीमध्ये २१ वटा भाटभटेनी तोडफोड, चोरी, लुटपाट, आगजनी हुँदा १२वटा पूर्ण रुपमा खरानी बन्न पुगे । त्यतिमात्रै होइन कम्तिमा पाँच हजार बढीको रोजगारी नै गुम्न पुग्यो।
२०४१ सालमा मीनबहादुर गुरुङले फरक उदेश्य लिएर काठमाडौं नक्सालमा एउटा सटरबाट सुरु गएको भाटभटेनी अहिले पाँचौ हजारलाई प्रत्यक्ष र अन्य हजारौंलाई अप्रत्यक्ष रुपमा रोजगारी प्रदान गरेको थियो। भने नेपालमै लगानी, रोजगारी र स्वदेशमै केही गर्न सकिन्छ भन्ने पर्याय बनेको थियो। शिक्षा, स्वास्थ्य लगायत समाज सेवाका क्षेत्रमा भाटभटेनी र गुरुङले गरेका आर्थिक सहयोग उदाहरणीय छन्।
यीनै कार्यलाई निरन्तरता दिँदै भाटभटेनीलाई बिस्तारै मुलुकका ७७ जिल्लामै विस्तार गर्ने योजनामा रहेका गुरुङको यात्रामा भने अहिले तीनदिन अघि जेनजीको आन्दोलनमा भएको घुसपैठले एक्कासी ‘ब्रेक’ मात्रै लागेको छैन अर्बौंको भौतिक क्षति हुन पुगेको छ।
यसरी एक निमेषमा पाँचौ हजार बढीको रोजगारी गुम्नु, अर्बौको क्षति हुनु गुरुङको मात्रै क्षति नभएर सिँगो नेपालकै अर्थतन्त्रमा पनि गम्भिर धक्का लाग्नु हो। भाटभटेनीका अनुसार उक्त घटनामा ‘कति सामान लुटियो, कति क्षति भयो, कति नगद लुटियो, कति जल्यो, कति भौतिक क्षति भयो भन्ने यकिन विवरण निकाल्न नै महिनौं लाग्ने देखिन्छ।
अर्कातिर रोजगारी गुमेका ५ हजार जनाको व्यवस्थापन कसरी गर्ने भन्ने पनि टाउको दुखाई बनेको छ। यसअघी गत चैत १५मा भएको राजावादीको प्रदर्शनको बेला पनि कोटेश्वरको भाटभटेनीमा लुटपाट र तोडफोड हुँदा करोडौंको क्षति भएको थियो।
भाटभटेनीकाअनुसार सबै स्टोरको बिक्री परिमाण हिसाब गर्दा प्रत्येक दिन १० करोड ६८ लाख रुपैयाँ बराबर हुन्छ त्यसको वार्षिक कारोबार नै लगभग ३९ अर्ब रुपैयाँ हाराहारी हुनेगर्छ।’ मुख्य व्यापार हुने समय दसैंतिहारकै मुखमा यसरी बज्रपात परेपछि भाटभटेनी ठुलो क्षति पुगेको छ।