
नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले पदभार ग्रहण गरेपछि मन्त्रालयमा आयोजित ब्रिफिङ सत्रमा अनपेक्षित तरिकाले एक व्यक्तिले आक्रोश व्यक्त गरेका छन्।
पर्वतका शालिकराम पौडेल नाम गरेका ती व्यक्तिले मन्त्री खनाल कर्मचारीहरूलाई निर्देशन दिइरहेको बेलामा अचानक हस्तक्षेप गर्दै बजेट विभाजनप्रति असन्तुष्टि जनाए।
उनले भने, ’७ वटा जिल्लालाई मात्रै प्राथमिकतामा राखेर बजेट बनाइएको छ। हाम्रो गाउँलाई किन बजेट छुट्याइएन?’
मन्त्री खनालले शान्तिपूर्वक ’एकछिन ल’ भनेर रोक्ने प्रयास गरे पनि पौडेल थप आक्रोशित बने। ’हामीले पनि आन्दोलन गरेका हौं। तपाईं त्यसै मन्त्री भएको हो र? कुरा सुन्नुस् यहाँ!’ भन्दै उनी चर्किए।
स्थिति नियन्त्रणमा लिन सुरक्षाकर्मीहरू अगाडि बढे पनि पौडेल रोकिएनन्। त्यसपछि मन्त्री खनालले संयमित हुँदै हात मिलाउँदै सोधे, ’हुन्छ, हजुरको शुभ नाम के हो त?’
आफ्नो नाम बताएपछि पौडेलले मन्त्रालयभित्र ’बदमासहरू’ भएको आरोप लगाए। उनले थपे, ’एउटा दिन मन्त्री भएर के हुन्छ र? काम गर्न सजिलो छैन, सजिलो छैन।’ मन्त्री खनालले उक्त क्षणमा थप प्रतिक्रिया जनाएनन्, तर घटना मन्त्रीको पहिलो कार्यदिवसमा सामान्य प्रतीत हुने शिष्टाचार तोडिएको रूपमा चर्चामा आएको छ।