काठमाडौं, भदौ ३० :

नवनियुक्त भौतिक योजनामन्त्री कुलमान घिसिङले हालै देशभर भएका तोडफोड र आगजनीबाट क्षति पुगेका सार्वजनिक संरचनाहरूको पुनर्निर्माणका लागि विशेष कोष खडा गर्ने घोषणा गरेका छन्।

मन्त्रालयको कार्यभार सम्हालेको पहिलो दिन पत्रकारहरूसँग कुरा गर्दै मन्त्री घिसिङले यस्तो कोष स्थापनाका लागि मन्त्रिपरिषद्बाट औपचारिक निर्णय लिने प्रक्रिया अघि बढाइने जानकारी दिए। उनले भने, ‘आक्रोशको कारण संरचनाहरूमा ठूलो क्षति पुगेको छ। तर अब हामी सबै मिलेर ती संरचनाहरू पुनः निर्माण गर्नुपर्ने आवश्यकता छ।’

उनले पुनर्निर्माण कोषमा रकम संकलन गर्न देश-विदेशमा रहेका नेपालीहरूलाई पनि आह्वान गरेका छन्। ‘यो हाम्रो साझा जिम्मेवारी हो। सरकार एक्लैले हैन, सबैको सहयोगबाट मात्र पुनर्निर्माण सम्भव छ,’ मन्त्री घिसिङको भनाइ थियो।

हालैको जेनजी आन्दोलनका क्रममा भएको हिंसात्मक प्रदर्शन र आगजनीका कारण अरबौं रुपैयाँ बराबरको सार्वजनिक सम्पत्तिमा क्षति पुगेको प्रारम्भिक आकलन गरिएको छ। यस्ता संरचनाहरू तत्काल पुनःनिर्माण गर्नुपर्ने आवश्यकता औंल्याउँदै मन्त्री घिसिङले व्यवस्थित र पारदर्शी कोषमार्फत कार्य अघि बढाइने स्पष्ट पारे।