काठमाडौं, भदौ ३१ :

पछिल्लो केही वर्षयता नेपालमा मुटुरोग सम्बन्धी समस्या भएका बिरामीहरुको संख्या बढ्दै गएको छ । अस्वस्थकर खानपान र जीवनशैलीमा आएको परिवर्तनले मुटु रोगको समस्या बढ्दै गएको चिकित्सकहरुले बताउने गरेका छन् ।

खासगरी मुटु रोग भनेको मुटु र रक्तनलीमा हुने स्ट्रक्चरल र कार्यात्मक समस्या हुनु हो । जसले मुटुले नियमित गर्नुपर्ने काम पनि गर्न सक्दैन । जसले गर्दा मुटुको गति बिग्रीन र मुटुका विभिन्न भागहरुले काम गर्न नसक्नु, रगतको प्रवाहमा समस्या उत्पन्न हुने गर्छ भने यसले सबैभन्दा बढी हृदयघात हुने जस्ता समस्या आउने मुटुरोग विशेषज्ञ डा. सहदेव ढुङ्गाना बताउछन् । यस सन्दर्भमा सक्रिय न्युजले मुटुरोग विषेशज्ञ डा. सहदेव ढुङ्गानासँग गरेको कुराकानीको सम्पादित अंश :

मुटुरोग कस्तो रोग हो ?

मुलतः मुटुरोग भनेको विभिन्न कारणले मुटु तथा मुटुका विभिन्न पार्टहरुले काम गर्न नसक्नु हो । यसलाई मुटु तथा रक्तनलीमा हुने स्ट्रक्चरल र कार्यात्मक समस्या हुनु हो पनि भनिन्छ । जुन समस्या आएपछि मुटुले नियमित गर्नुपर्ने काम गर्न सक्दैन, मुटुका विभिन्न पार्टहरु निस्क्रिय हुन पुग्छन्, मुटुको रक्तसञ्चारमा असर पुर्‍याउँछ जसकारण हार्ट अट्याक, हृदयघात जस्ता समस्याहरु आउछन् । समग्रमा भन्नुपर्दा विभिन्न समस्याहरुले असर गरेपछी मुटुले गर्नुपर्ने नियमित काम कारबाही गर्न नसक्नु नै मुटुरोग हो ।

मुटुरोगका लाग्नुका कारणहरु के-के हुन् ?

मुटुरोग लाग्ने अनेकन कारण छन् । खास गरेर स्वस्थ जीवनशैली अपनाउन नसक्नु, खराब खानपानको प्रयोग, उच्च कोलेस्ट्रोल, बढी वोसोयुक्त खाना, नुनको बढी सेवनसँगै धुम्रपान, मद्यपानको सेवन, अत्यधिक मोटोपना, उच्च रक्तचाप, मधुमेहजस्ता कारणले मुटु सम्बन्धी समस्या आउने गर्दछ ।
कतिपय मानिसहरुमा वंशानुगत कारणले पनि हुने गर्दछ भने अन्य कारणहरु मृगौलाको रोग, क्यान्सर रोग, वातावरणीय कारणहरू जस्तै वायु प्रदूषण, र मानसिक तनावले पनि मुटुसम्बन्धी समस्या निम्याउन सक्छ । यसले हर्टअट्याक गराउँछ ।

मुटुरोग लागेको कसरी छुट्याउने ? यसका लक्षणहरू के हुन् ?

यसको कतिपय अवस्थामा सामान्य रुपमै लक्षणहरु थाहा पाउन पनि सकिन्छ । मुख्य त हिड्दा, सास बढ्नु, स्याँस्याँ हुनु, छातीमा गहिरो दुखाई हुने अनुभूति गर्नुभयो भने मुटुरोग लागेको छ भन्ने जान्दा हुन्छ ।

सँगसँगै बायाँ पाखुरा वा कम्मरतिर दुख्नु, सास फेर्न अप्ठ्यारो महसुस हुनु, घाँटी सुनिनु वा अफ्ठ्यारो महसुस हुनु, बेलाबेला चिटचिडाहट हुनु,चक्कर आउनु, बेहोश हुनु, हातखुट्टा सुन्निनु, अत्यधिक पसिना आउनु, निद्रा नलाग्नु, अत्यधिक थकान महसुस हुनु ।

यस्ता लक्षणहरू देखिए भने मुटुसम्बन्धी समस्या भएको हुनसक्छ । त्यसकारण ती समस्यालाई बेवास्ता नगरी तत्कालै चिकित्सकको परामर्श लिनु महत्वपूर्ण हुन्छ । नत्र सानो लापरबाहीले मानिसलाई मृत्युकै मुखमा पनि पुराउन सक्छ ।

मुटुरोगबाट बच्ने उपायहरू के-के हुन सक्छन् ?

मुटु रोगबाट बच्न सुरुमा त लाग्नै नदिने कुराहरुमा ध्यान दिन जरुरी छ । त्यसमाथी लक्षण देखिएपछी वा मुटुरोग पहिचान भैसकेपछी पनि निकै सजक र सचेत बन्न जरुरी छ ।

मुटुको समस्या अत्यन्तै जोखिमपूर्ण समस्या हो । यसलाई नियमित चिकित्सकको परामर्श, नियमीत औषधीको सेवन, खानपानमा ध्यान दिने हो भने कतिपय मुटुरोग उपचारपछी निको हुन्छ । र बिरामी पूर्ववत् अवस्थामा फर्किन सक्छ । तर लापरबाही गरिरहने खानपान, औषधीको प्रयोगमा खेलाँची गर्ने डाक्टरको नियमीत परामर्शमा नरहे हो भने ज्यानै पनि जान सक्छ । पछिल्लो समय देखिने हार्ट अट्याकको समस्या पनि यस्तै हो ।

त्यसकारणले मुटुसम्बन्धी बिरामीले औषधी सेवन र चिकित्सकको परामर्शमा नियमीत रहने, स्वस्थ आहार खाने, जङ्क फुड तथा फास्ट फुडको प्रयोग नगर्ने, नियमीत व्यायाम गर्ने, शरिरलाई चलायमा एक्टिभ बनाइराख्ने हो भने मुटु रोगको जोखिम नै घटाउँछ ।त्यस्तै धुम्रपान पूर्णरुपमा तत्कालै छाड्ने, मद्यपान पनि सकभर नगर्ने, तनाव व्यवस्थापन गर्ने, आराम गर्ने, नियमित स्वास्थ्य जाँच गर्ने, उमेर र स्वास्थ्य अवस्थाअनुसारको रक्तचाप छ कि छैन, कोलेस्ट्रोल र रक्तसञ्चार बस्तो छ जाँच गराउने गर्नुपर्छ ।

मुटुरोग कुन उमेर समुहका मानिसलाई बढी हुन्छ ?

विगतमा कुनै निश्चित उमेर समुहलाई हुने गरेको भएपनि अहिले जुनसुकै उमेर समूहका व्यक्तिलाई पनि हुन सक्छ। खासगरी पछिल्लो समय युवापुस्तामा पनि मुटुरोगको समस्या बढ्दै गएको छ। अहिले विश्वभरकै समस्या हेर्दा मुटुसम्बन्धी समस्यामा हर्टअट्याक अर्थात हृदयघात व्याप्त देखिन्छ ।
मुटु रोगले ग्रस्त व्यक्तिहरु यसको सबैभन्दा बढी जोखिममा पनि छन् । भने हृदयघात जसलाई जतिबेला पनि हुनसक्छ । त्यसकारण सबै उमेर समुहका व्यक्तिहरु मुटुरोगको जोखिममा छन् ।

मुटुरोग लाग्नै नदिन के गर्ने ? के कुरामा ख्याल गर्ने ?

मुटु रोग लाग्नै नदिन र यसको जोखिम घटाउन स्वस्थ जीवनशैली अपनाउनु अति महत्वपूर्ण छ । बच्चा उमेरबाटै फास्ट फुड, जङ्क फुड, जस्ता खानेकुरा कम गराउनुपर्छ भने अरुले पनि स्वस्थ आहार, नियमित शारीरिक गतिविधि, धुम्रपान र मद्यपानको नियन्त्रण, तनाव व्यवस्थापन, र नियमित स्वास्थ्य जाँचले मुटु रोगबाट बच्न सकिन्छ ।आफ्नो स्वास्थ्यप्रति सचेत रहनुहोस् र मुटु रोगको सम्भावित लक्षणहरू देखिएमा तत्काल चिकित्सकको सल्लाह लिनुहोस् । यति गर्ने व्यक्ति मुटु रोग लागिहाले पनि उपचार पछी निको हुन सक्छ भने खेलाँची गर्ने व्यक्ति मृत्युकै मुखमा पनि पुग्न सक्छ ।