
नेपाल उद्योग वाणिज्य महासङ्घले युवा, महिला एवं साना तथा मझौला उद्यमीको प्रवर्द्धनमा विशेष प्रयास गरिरहेको जनाएको छ ।
महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले मङ्गलबार साँझ पत्रकारहरूसँग भएको छलफलमा महासङ्घले मस्यौदा गरेको ‘स्टार्टअप’ नीति पारित भएको बताउनुभयो ।
तीन वर्षदेखि निरन्तर स्टार्टअप नेसन कार्यक्रम आयोजना गरी प्रवर्द्धन र पैरवी गरिरहेको जानकारी दिँदै उहाँले कैलालीमा प्रदेश सरकारसँगको सहकार्यमा चाँडै ‘इन्कुवेसन’ केन्द्र स्थापना गरिने बताउनुभयो ।
साना तथा मझौला उद्यमीका लागि ‘एसएमई’ विकास केन्द्र महासङ्घमा स्थापना गरिने जानकारी दिँदै अध्यक्ष ढकालले यसको प्रभावकारी सञ्चालनको तयारी भइरहेको बताउनुभयो ।
मुलुकको अर्थतन्त्रमा क्रमशः सुधार हुन थालेको भए पनि निजी क्षेत्र सन्तुष्ट भएर बस्ने अवस्था नरहेको बताउँदै अध्यक्ष ढकालले आर्थिक सूचक पनि सकारात्मक हुँदै गएको उल्लेख गर्नुभयो ।
उद्योग व्यवसायसँग सम्बन्धित विवाद निरुपण गर्न महासङ्घमा मेलमिलाप केन्द्र स्थापनासम्बन्धी कार्यविधि तयार भएको बताउँदै उहाँले त्यसबाट व्यवसायी बीचका विवाद समाधानमा योगदान पुग्ने बताउनुभयो ।
देशमा लगानीका सम्भावना प्रशस्त रहेका, जलविद्युत्, पर्यटन, उत्पादन, कृषि, भौतिक पूर्वाधारलगायत क्षेत्रमा स्वदेशी लगानीकर्ता पुँजी परिचालन गर्न इच्छुक रहेको बताउँदै स्वदेशी पुँजीमा नै विकास- निर्माणका परियोजना कार्यान्वयन गर्न नेपाल डेभलपमेन्ट पब्लिक लिमिटेड दर्ता भएको जानकारी दिनुभयो ।
उक्त कम्पनीमा कम्तीमा ४० अर्ब दाखिला गरी त्यसबाट प्रसारण लाइन निर्माणलगायत विकास आयोजना सञ्चालन गर्न सकिने उहाँले बताउनुभयो ।