
पुँजी बजारमा देखिएको अस्थिरता र समस्याको समाधान खोज्न अर्थमन्त्री रामेश्वर खनालले चार सदस्यीय सुझाव कार्यदल गठन गरेका छन्। कार्यदलको संयोजकमा धितोपत्र बोर्डका कार्यवाहक कार्यकारी निर्देशक रुपेश केसी छन्।
सदस्यहरुमा नेपाल राष्ट्र बैंकका निर्देशक शरण अधिकारी र नेपाल स्टक एक्सचेन्जका कार्यवाहक कार्यकारी निर्देशक निरञ्जन फुयाँल छन्। अर्थ मन्त्रालयका उपसचिव शरद निरौला कार्यदलका सदस्य सचिव तोकिएका छन्। बिहीबार मात्र तीन पटक ऋणात्मक सर्किट ब्रेकर लागेर नेप्से १६० अंकले घटेपछि शुक्रबार अर्थ मन्त्रालयले उक्त कार्यदल गठन गरेको हो।
अर्थ मन्त्रालयद्वारा जारी पत्रअनुसार, ‘पुँजी बजारमा विकसित विसङ्गति तथा समस्याको अध्ययन गरी, आम लगानीकर्ताको मनोबल बढाउनका लागि आवश्यक प्रणालीगत तथा प्रक्रियागत सुधार सुझावसहितको ठोस कार्यान्वयन योजना पाँच दिनभित्र पेश गर्न’ कार्यदल गठन गरिएको हो।
सरकारले कार्यदलको प्रतिवेदनलाई आधार बनाएर पुँजी बजारको सुधारका लागि आवश्यक कदम चालिने अपेक्षा गरिएको छ।