
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र चिनियाँ राष्ट्रपति सी चिनफिङबीच टेलिफोन वार्ता भएको छ ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शुक्रबार चिनियाँ राष्ट्रपति सी चिनफिङसँग भएको टेलिफोन वार्तामा टिकटकको अमेरिकी कारोबारको भविष्यबारे सम्झौता स्वीकृत भएको दाबी गरेका छन् यद्यपि बेइजिङले भने यसबारे पुष्टि गरेको छैन।
ट्रम्पले ट्रुथ सोसल मा लेख्दै वार्ता उत्पादक भएको र सीको अनुमोदनलाई उनले प्रशंसा गरेको बताएका छन्। यो सम्झौताअनुसार टिकटकको अमेरिकी कारोबार अमेरिकी लगानी कर्ताहरूको समूहलाई बेचिने बताइएको छ।
तर चीनको सरकारी समाचार संस्था सिन्ह्वाले परिणामलाई अस्पष्ट राख्दै सीले टिकटकबारे वार्तालाई स्वागत गर्छौं भनेको मात्र उद्धृत गरेको छ।
टिकटकलाई सञ्चालित गर्ने कम्पनी बाइटडान्सलाई यसअघि अमेरिकी कारोबार बेच्न वा बन्द हुने जोखिम उठाउनुपर्ने भनिएको थियो।
तर ट्रम्पले जनवरीमा पहिलो पटक घोषणा गरेको प्रतिबन्धलाई अहिलेसम्म चार पटक स्थगित गरेका छन् र यसै हप्तामा पुनः म्याद डिसेम्बरसम्म बढाएका छन्।
ट्रम्पले आफ्नो पोस्टमा भनेका छन् कि उनीहरूले व्यापार सम्बन्धी विषयमा प्रगति गरेका छन् र अक्टोबरको अन्त्यतिर दक्षिण कोरियामा हुने एपेक शिखर सम्मेलनमा भेट्ने सहमति भएको छ। उनले अर्को वर्षको सुरुतिर चीन जाने र सी उपयुक्त समयमा अमेरिका आउने पनि बताएका छन्। तर पत्रकारहरूसँग कुरा गर्दै ट्रम्पले सम्झौता अझै हस्ताक्षर हुन बाँकी रहेको र छिट्टै औपचारिक प्रक्रिया सुरु हुन सक्ने संकेत दिए।
यो सम्झौताअनुसार अमेरिकी कम्पनीहरूको समूह जसमा ट्रम्पका निकट सहयोगी ल्यारी एलिसनद्वारा सह-स्थापित ओराकल पनि समावेश हुने सम्भावना छ । सोही मार्फत टिकटक अमेरिकामा निरन्तर सञ्चालन हुनेछ। तर सामग्री सिफारिस गर्ने एल्गोरिदम कसको स्वामित्वमा रहने भन्ने विषय अझै विवादास्पद छ।
सिन्ह्वाले भने चीनको अडान एकदम स्पष्ट रहेको जनाउँदै बजार नियमअनुसार व्यावसायिक वार्ता गरी, दुवै पक्षका हितमा समाधान खोज्न सकिने जनाएको छ। साथै अमेरिकी बजारमा चिनियाँ कम्पनीहरूलाई निष्पक्ष वातावरण दिन आग्रह पनि गरेको छ।
बाइटडान्सले भने शुक्रबार जारी गरेको विज्ञप्तिमा सम्झौताप्रति अझै अनिश्चितता देखाउँदै टिकटक अमेरिकी प्रयोगकर्तासम्म उपलब्ध रहोस् भनी कम्पनी कानुनअनुसार अघि बढ्नेछ भनेको छ।
धेरै अमेरिकी सांसदहरूले विशेषगरी ट्रम्पकै पार्टीभित्रका केहीले यो सम्भावित सम्झौता प्रति चिन्ता व्यक्त गरेका छन्। किनभने बाइटडान्सको सम्बन्ध चिनियाँ कम्युनिस्ट पार्टीसंगै रहने हो कि भन्ने शंका छ ।
प्रतिनिधि सभाको सिसिपी सम्बन्धी विशेष समिति प्रमुख मिशिगनका रिपब्लिकन सांसद जोन मूलिनारले यदि एल्गोरिदम लाइसेन्समै आधारित सम्झौता भयो भने सिसिपीको प्रभाव रहिरहने खतरा हुने बताएका छन् ।
ट्रम्पले आफ्नो पहिलो कार्यकालमा टिकटक प्रतिबन्ध लगाउन खोजे पनि अहिले भने रणनीति परिवर्तन गर्दै यसलाई आफ्नो २०२४ को चुनावी अभियानको महत्त्वपूर्ण हिस्सा बताइरहेका छन्।
सन् २०२४ को सुरुतिर अमेरिकी सर्वोच्च अदालतले पारित गरेको कानुनअनुसार बाइटडान्सले अमेरिकी कारोबार छुट्ट्याउनुपर्ने निर्णय भएको थियो। त्यतिबेला टिकटक केही समय मात्र बन्द भएको थियो त्यसपछि प्रतिबन्ध स्थगित हुँदै आएको छ।
अमेरिकी न्याय विभागले टिकटक मार्फत अमेरिकी प्रयोगकर्ताको तथ्यांकमा पहुँच हुनु अत्यन्त गहिरो र व्यापक राष्ट्रिय सुरक्षाको खतरा भएको बताएको छ।
यस वर्ष ट्रम्प र सीबीच भएको यो दोस्रो टेलिफोन वार्ता हो।
जुनमा भएको वार्तामा दुवै नेताले चीनबाट दुर्लभ खनिजको निर्यातबारे छलफल गरेका थिए। त्यसपछि चीनले अमेरिकी कम्पनीहरूलाई सीमित संख्यामा निर्यात अनुमति दिने सहमति जनाएको थियो।
हालसम्म अमेरिकी र चिनियाँ अधिकारीहरूले चार चरणका वार्ता गरिसकेका छन्, जसले उच्च शुल्क तथा कडा निर्यात नियन्त्रणलाई रोकिराखेको छ।तर अझै पनि प्राविधिक निर्यात प्रतिबन्ध र अमेरिकी कृषि उत्पादनको चिनियाँ खरिद जस्ता संवेदनशील विषयमा समाधान भएको छैन।
यसैबीच अमेरिकाले फेन्टानिल तस्करीसँग जोडिएका भनिएका केही चिनियाँ वस्तुमा २० प्रतिशत शुल्क तोकेको छ।