भक्तपुर, असोज ७ :

नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली जेनजी आन्दोलनपछि पहिलो पटक गुन्डुमा सार्वजनिक भएका छन्। सरकारको नेतृत्व छाडेपछि ओली सार्वजनिक रूपमा देखिएका थिएनन्।

उनी गुन्डुस्थित भाडाको घरमा नेता तथा कार्यकर्तासँग भेटघाटका क्रममा सार्वजनिक भएका हुन्। नेता कार्यकर्तासँग भेटघाट गरेको तस्वीर सामाजिक सञ्जालमा भए पनि ओलीले कुनै औपचारिक प्रतिक्रिया भने जनाएका छैनन् । उनीसँगै नेता महेश बस्नेत पनि तस्बिरमा देखिएका छन् । ओलीलाई बालकोटबाट गुन्डु सार्न पनि बस्नेतले नै सबै चाँजोपाँजो मिलाएका हुन् ।

जेनजी आन्दोलनको दबाबका कारण ओलीले भदौ २४ गते राजीनामा दिएका थिए। उनको राजीनामापछि पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीको नेतृत्वमा अन्तरिम सरकार गठन भएको छ। साथै आगामी फागुन २१ गतेलाई आमनिर्वाचनको मिति तोकेको छ।