
सरकारले मापदण्ड विपरित सञ्चालनमा आएका होटल तथा रेष्टुरेण्टहरुमाथि कारबाही गर्ने भएको छ । शुक्रवार काठमाडौंको अनामनगरस्थित होटल तथा रेष्टुरेण्टमा अनुगमनका लागि पुगेका खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका खाद्य निरीक्षण अधिकारीहरुले मापदण्ड विपरीत चलेका होटल तथा रेष्टुरेण्टहरुले आफूलाई १, २ दिनभित्र सुधार नगरे कडा कारबाही गर्ने चेतावनी दिएका हुन् ।
उनीहरुले अनुगमनको क्रममा मापदण्ड विपरित खाद्य भण्डार गरेको, सरसफाईमा कमी रहेको औंल्याउँदै तत्काल सुधार गरेर २ दिनभित्र विभागमा उपस्थित हुन पनि होटल तथा रेष्टुरेञ्ट सञ्चालकहरुलाई निर्देशन दिएका थिए । मापदण्ड विपरित चल्ने कुनैपनि होटल तथा रेष्टुरेण्टहरुलाई कडा कारबाही गर्ने गरी अनुगमनको कामलाई अघि बढाइएको विभागका खाद्य निरीक्षण अधिकारी सरोज पौडेलले बताए । उनले अनुगमनको क्रममा किचनमा सफाईको कमी देखिएको, खाद्य भण्डारणमा पनि समस्या देखिएको पाइएको उल्लेख गरे ।
खाद्य निरीक्षण अधिकारी पौडेलले भने, ‘सामान्यतय किचनको सरसफाई सन्तोषजनक अवस्थामा नरहेको पायौं । उहाँहरुले गर्नुभएको सरसफाईको अभ्यास र हाईजिन र सेनिटेशन मेन्टेनका लागि उहाँहरुले गर्नुभएको प्राक्टिसहरु अपर्याप्त भएको अनुभव गरेका छौं । यो किचनमा देखिएको कमी सुधार गर्नुस् भनेर निर्देशनसहित जानकारीमूलक कुराहरु गरेका छौं । अब अर्को पटक आउँदा पनि यस्तो खालको अवस्था देखियो भने कारबाही हुन्छ भनेर सम्झाउने काम पनि भयो । मापदण्डअनुसार खानाहरुको भण्डारण गर्नुस, कमी सुधार गरेर २ देखि ३ दिन भित्र कार्यालय उपस्थित हुनु भनेर निर्देशन दिएर हामी गएका छौं । आउनु भएन भने हामी फलोअप गरेर कारबाहीको प्रक्रियामा जान्छौं ।’ सरकारले दशैँ, तिहार जस्ता चाडपर्वलाई ध्यानमा राखेर हरेक वर्ष अनुगमनको कामलाई तीव्रता दिने गरेको छ ।