सप्तरी, असोज १५ :

नेपाली सेनाको हेलिकप्टर मार्फत बडादसैँको अवसरमा आज महानवमीका दिन सप्तरीका दुई शक्तिपीठमा पुष्पवृष्टि गरिएको छ ।   

जिल्लाको हनुमाननगर कङ्कालिनी नगरपालिका–१ भारदहस्थित कङ्कालिनी भगवती मन्दिरमा नेपाली सेनाको हेलिकप्टरमार्फत पृष्प वृष्टि गरिएको हो । विगत तीन वर्षदेखि महानवमीका दिन यहाँ हेलिकप्टरमार्फत पृष्पवृष्टि गराउन थालिएको छ । 

कङ्कालिनी मन्दिरमा महानवमीका दिन आज यहाँ राँगा बलि दिने चलन छ ।  राँगा बलिका लागि हालसम्म ५९० आइपुगेको मन्दिर विकास समितिले जनाएको छ । आज यहाँ पनि ठूलो मेलासमेत लागेको छ ।

त्यस्तै जिल्लाको छिन्नमस्ता गाउँपालिका–३ स्थित सखडामा रहेको छिन्नमस्ता भगवती मन्दिरमा समेत आज पुष्पवृष्टि गरिएको छ । गाउँपालिकाको आग्रहमा नेपाली सेनाको हेलिकप्टरमार्फत छिन्नमस्ता मन्दिरमा पुष्प वृष्टि गरिएको गाउँपालिका अध्यक्ष विद्यानन्द चौधरीले जानकारी दिए  ।