
आन्दोलन गर्न माइतीघर पुगेका केही व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । डा. निकोलस भुसाल,सञ्जिव दाहाल,एसपी साहसहित १४ जना पक्राउ पक्राउ परेका छन् ।
जेनजीको एउटा समूहले आज आफूहरुको कुनै किसिमको आन्दोलन नभएको जनाएपछि डा.भुसाल लगायतका केही युवा भने सरकारलाई खबरदारी गर्न भन्दै बिहान ११ बजे माइतीघर मण्डला पुगेका थिए । उनीहरु जेनजीहरुले अन्तरिम सरकारसँग राखेका मागहरु पूरा गर्न ढिलाइ गरेको, भ्रष्टाचार र बेथिति विरुद्ध कुनै कदम नचालेको, जेनजी पुस्ताले गत भदौ २३ गते गरेको आन्दोलनमा दमन गर्नेहरुलाई पक्राउ नगरिएको भन्दै विभिन्न माग राखेर प्रदर्शन गर्न पुगेका हुन् ।
साथै उनीहरुले जेन-जीको माग पूरा गर्न संविधान संशोधन गर्नुपर्नेमा जोड दिएका छन् । प्रधानमन्त्री गृहमन्त्रीले सहिदको र जेन-जीको माग पूरा गर्न नसके राजीनामा दिनुपर्ने उनको माग छ। प्रहरीले पक्राउ परेकाहरुलाई जिल्ला प्रहरी परिसर काठमाडौंमा राखेका छ । प्रहरीले माइतीघर आसपासका क्षेत्रको सुरक्षा अवस्था कडा तुल्याएको छ । सुरक्षाकर्मीले कसैलाई पनि प्रदर्शन गर्न दिएका छैन।
माइतीघर,नयाँ बानेश्वर आसपासका क्षेत्रहरुमा ठूलो मात्रामा नेपाल प्रहरी, सशस्त्र प्रहरीको टोलीहरु परिचालन गरिएको छ । एमालेको विद्यार्थी संगठन अनेरास्ववियुले पनि काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह र जेन–जी अगुवा सुदन गुरुङविरुद्ध प्रहरीमा जाहेरी दिएका छन् भने जेनजीको एक समूहले पूर्वप्रधानमन्त्री केपी ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई पक्राउ गर्नुपर्ने भन्दै जाहेरी दिएका छन् । दुईपक्षको जाहेरीले सुरक्षा चुनौती बढाएको छ ।