
फाइल तस्बिर ।
गत भदौ २३ र २४ गते काठमाडौं उपत्यकासहित देशभर भएको जेन–जी आन्दोलन र प्रदर्शनका क्रममा नेपाल प्रहरीले ३७ हजारभन्दा बढी तस्बिर, भिडियो र सामाजिक सञ्जालका लिंकहरू प्राप्त गरेको छ।
नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता प्रहरी नायब महानिरीक्षक (डीआईजी) विनोद घिमिरेका अनुसार आन्दोलनका क्रममा देशभर भएका आगजनी, तोडफोड, लुटपाट तथा सर्वसाधारणमा त्रास सिर्जना गर्ने घटनासँग सम्बन्धित दृश्य, भिडियो तथा लिंकहरू इमेल र वेबसाइटमार्फत प्राप्त भएका हुन्।
यसअघि प्रहरीले विज्ञप्ति जारी गर्दै आन्दोलनको क्रममा देखिएका अवाञ्छित गतिविधि तथा हिंसात्मक घटनासम्बन्धी प्रमाणहरू फोटो, भिडियो वा अन्य जानकारी उपलब्ध गराउन आम नागरिकसँग अनुरोध गरेको थियो। प्रहरीले संकलित सामग्रीहरूको विश्लेषण गरी कानुनी प्रक्रिया अघि बढाउने जनाएको छ।
प्रदर्शनकारीहरुले प्रहरी कार्यालयमा तोडफोड गर्नुका साथै आगजनी गरी क्षति पुर्याएका छन् । यतिमात्र होइन प्रहरीलाई समेत कुटपिट गरी बर्दी र हतियार लुटेर लगे । प्रदर्शनकारीहरुबाट सार्वजनिक स्थलमा बर्दी लगाएर प्रहरीको भावनामा समेत चोट पुग्ने हर्कत भए । अझै लुटेर लगिएका थुप्रै हतियार बाहिरै रहेको भन्दै प्रहरीले सुरक्षाप्रति चिन्ता व्यक्त गरेको छ ।