काठमाडौं, असोज २५ :

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आगामी महिनादेखि चीनबाट आउने आयातमा  शतप्रतिशत शुल्क लगाउने घोषणा गरेका छन्।

सामाजिक सञ्जालमा लेख्दै ट्रम्पले अमेरिकाले अत्यावश्यक सफ्टवेयरहरूमा निर्यात नियन्त्रण पनि लागू गर्ने बताएका छन्।

यसअघि शुक्रबार गरिएको अर्को पोस्टमा उनले चीनले दुर्लभ खनिज पदार्थ रेयर अर्थको निर्यात नियम कडा बनाउने कदमको आलोचना गर्दै बेइजिङ अत्यन्तै आक्रामक बन्दै गएको र संसारलाई बन्धक बनाउन खोजिरहेको आरोप लगाएका थिए।

ट्रम्पले चीनका राष्ट्रपति सी जिन पिङसँगको बैठकबाट पछि हट्ने धम्की दिएका थिए । पछि उनले बैठक रद्द नगरेको तर हुन सक्छ यो बैठक नहोस भनेका थिए।

ट्रम्पको उक्त वक्तव्यपछि अमेरिकी सेयर बजारमा गिरावट आएको थियो । 

चीन दुर्लभ खनिज पदार्थ  र अन्य महत्वपूर्ण सामाग्रीहरूको प्रमुख उत्पादक हो। यी सामाग्रीहरू कार, स्मार्टफोन र अन्य धेरै उपकरणका लागि अत्यावश्यक हुन्छन्।

यसअघि ट्रम्पले चीनियाँ सामानमा शुल्क बढाएपछि बेइजिङले निर्यात नियम कडा गर्दा धेरै अमेरिकी कम्पनीहरूले विरोध जनाएका थिए। कार निर्माता कम्पनी फोर्डले त अस्थायी रूपमा उत्पादन नै रोक्नुपरेको थियो।

रेयर अर्थ निर्यातका नियम कडा बनाउनुका साथै चीनले अमेरिकी प्रविधि कम्पनी क्वालकम   विरुद्ध एकाधिकार अनुसन्धान सुरु गरेको छ जसले अर्को चिप निर्माता कम्पनीको अधिग्रहण प्रक्रिया रोक्न सक्छ।

हालै चीनले अमेरिकी सम्बन्ध भएका जहाजहरूमा नयाँ बन्दरगाह शुल्क पनि लगाउने घोषणा गरेको छ।

चीनमा धेरै अचम्मका कुरा भइरहेका छन्! ट्रम्पले सामाजिक सञ्जालमा लेखे। उनीहरू धेरै आक्रामक हुँदै गइरहेका छन्।

अमेरिका र चीनबीच मे महिनादेखि व्यापारिक तनाव केही घटेको थियो जब दुबै पक्षले एक अर्काको सामानमा लगाइएको उच्च शुल्क हटाउने सहमति गरेका थिए। तर अहिले अमेरिकी सामान चीन प्रवेश गर्दा १० प्रतिशत नयाँ शुल्क लाग्छ भने चीनका सामानमा ३० प्रतिशत सम्म अतिरिक्त शुल्क कायम छ।

त्यसयता दुवै पक्षबीच टिकटक, कृषि खरिद, दुर्लभ खनिज र सेमीकन्डक्टर प्रविधि जस्ता विषयमा वार्ताहरू भइरहेका छन्। यस महिनाको अन्त्यमा दक्षिण कोरियामा हुने शिखर सम्मेलनमा पुनः भेटवार्ता हुने अपेक्षा गरिएको थियो।

ब्रुकिङ्स इन्स्टिट्युसनका विशेषज्ञ जोनाथन जिनले भने सी जिनपिङ हालका कदमहरूले आगामी वार्तामा पहल गर्ने प्रयास गरिरहेका छन्, तर यी नयाँ निर्यात नियम तुरुन्त लागू नहुने बताएका छन्।

चीनले महसुस गरेको छ कि गत पटकको व्यापारिक द्वन्द्वमा उनीहरूले अमेरिकी प्रशासनभन्दा बढी दबाब झेल्न सके उनले भने।

वाशिङटनस्थित  सेन्टर फर स्ट्राटेजिक एण्ड इन्टरनेसनल स्टडीजकी ग्रासलिन बास्करनका अनुसार, चीनले यस पटक निर्यात नियमहरू विशेषगरी विदेशी रक्षा उद्योगहरूलाई लक्षित गरेर बनाएको छ।

अमेरिकाको रक्षा उद्योगलाई असर पर्ने कुरा भयो भने त्यसले तुरुन्त प्रभाव पार्छ,उनले भनिन्। अमेरिकासँग सीमित विकल्प छन्, त्यसैले वार्ता हुनैपर्छ।

हाल ट्रम्प–सी बैठक असम्भावित देखिए पनि बास्करनका अनुसार वार्ताको सम्भावना पूर्ण रूपमा समाप्त भएको छैन। चीनका नयाँ नियमहरू डिसेम्बरसम्म लागू नहुने भएकोले वार्ताको समय अझै बाँकी छ।

वार्ता चाँडै हुन सक्छ,उनले भनिन्। कसले गर्छ र कहाँ हुन्छ भन्ने कुरा समयले निर्धारण गर्नेछ।