ललितपुर, असोज ५ :

उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले लगानीमैत्री वातावरण बनाउन सरकारले योजनाबद्ध रुपमा काम गर्ने बताउनुभएको छ । 

ललितपुर उद्योग वाणिज्य सङ्घको ४५ औँ वार्षिक साधारणसभामा मन्त्री भण्डारीले आर्थिक मन्दीका कारण व्यवसायीलाई परेको आर्थिक सङ्कटको समाधान गर्न सरकारका तर्फबाट आवश्यक प्रयास थालिने उल्लेख गर्नुभयो । 

सरकारले लगानीका क्षेत्र परिभाषित गरेको जनाउँदै सूचना प्रविधि, ऊर्जा, कृषि र उद्योग लगायत क्षेत्र प्राथमिकतामा रहेको उहाँले बताउनुभयो ।

लगानी सम्मेलन गरी नीतिगत सुधार गर्दै गएका जानकारी दिदै मन्त्री भण्डारीले अझै लगानीको पर्याप्त वातावरण बनिनसकेको बताउनुभयो । यो वातावरण बनाउने दायित्व सरकार, सरोकार भएका निकायका साथै निजी क्षेत्रको पनि मन्त्री भण्डारीको भनाई थियो ।

निजी क्षेत्र उत्साहित नहुनुको कारण पत्ता लगाई समाधान खोज्न समन्वय, सहकार्य र छलफलका माध्यमबाट सम्भव हुने उहाँले धारणा राख्नुभयो । 

हरेक व्यक्तिले सरकार, राज्य मेरो हो भन्ने वातावरण तयार नभएसम्म आर्थिक समृद्धि नहुने बताउँदै मन्त्री भण्डारीले सरकारका नीति तथा कार्यक्रममा कमजोरी भए सच्याउन सकिने भएकाले छलफलमा आउन उद्योगी व्यवसायीलाई आग्रह गर्नुभयो । 

युवाहरूलाई उद्यमी बनाउन स्टार्टअप कार्यक्रम ल्याइएको बताउँदै मन्त्री भण्डारीले युवापुस्तामा विदेशमा मात्रै सम्भावना देख्ने प्रवृत्ति सुखद् नभएको धारणा राख्नुभयो । 

सङ्घीय सरकार, प्रदेश सरकार र स्थानीय तह मिलेर देशको विकास सम्भव भएको उल्लेख गर्दै जनतामा देखिएका निराशाको अन्त्य गर्न तीनै तहका सरकारबीच सहकार्य र समन्वय आवश्यक रहेको उहाँले बताउनुभयो । जनतामा ‘सरकार मेरो हो’ भन्ने भावना जागृत हुनुपर्नेमा उहाँले जोड दिनुभयो ।