काठमाडौं, असोज ३० :

नेकपा एमालेको १०औँ केन्द्रीय कमिटीको दोस्रो बैठकमा केही नेताहरूले पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई पदबाट राजीनामा दिन सुझाव दिएका छन्। 

ललितपुरको भनिमण्डलस्थित जावालाखेलमा जारी बैठकमा रविन कोइराला, रचना खड्का र रामलाल साहलगायत नेताहरूले ओलीले पार्टीको नेतृत्व नयाँ पुस्तालाई दिनुपर्ने बताएका हुन्।

बैठकमा बोल्ने क्रममा रविन कोइरालाले अध्यक्ष ओलीलाई अध्यक्ष छोडेर आराम गर्न सुझाव दिएका थिए भने रामलाल साहले अब बिदा लिनुहोस् भन्ने भनाइ राखेका थिए।

यस्तै, केन्द्रीय सदस्य रचना खड्काले भने पार्टी विधानअनुसार दुई कार्यकालको सीमा र उमेर हदबारे पुनर्विचार गर्नुपर्ने धारणा राख्दै ओलीले नेतृत्व छाड्नुपर्ने सुझाव दिएकी हुन्।

उनले भनिन्, ‘परिवर्तित सन्दर्भले निर्माण गरेको चुनौती सामना गर्न पार्टीलाई बलियो बनाउनका लागि विधानमा दुई कार्यकाल र उमेर हदलाई पुनःव्यवस्था गर्नुपर्छ। अन्यथा एकपटक नेतृत्वमा पुगेपछि सकुञ्जेल र बाँचुञ्जेल त्यही नेतृत्वमा बस्ने, पार्टी अस्थायी र व्यक्ति स्थायी जस्तो चिन्तनको विकास हुन्छ।’

पार्टी प्रचार तथा प्रकाशन विभाग प्रमुख राजेन्द्र गौतमका अनुसार, बुधबारको बैठकमा अध्यक्ष ओलीले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदनमाथि ५० जना केन्द्रीय सदस्यहरूले धारणा राखेका थिए। बैठकमा प्रत्येक सदस्यलाई तीन मिनेट समय दिइएको छ र बोल्ने क्रम वर्णानुक्रमअनुसार उल्टो-ज्ञ बाट सुरु गरिएको छ।

बैठकमा अध्यक्ष ओलीले आगामी मंसिर २७ देखि २९ गतेसम्म पोखरामा पार्टीको ११औँ महाधिवेशन गर्ने प्रस्ताव गरेका थिए। केन्द्रीय सदस्यहरूको धारणा सुनेपछि अब पदाधिकारीहरूले आफ्ना विचार राख्नेछन्। अन्त्यमा अध्यक्ष ओलीले उठेका जिज्ञासा र सुझावहरूमाथि एकमुष्ट जवाफ दिने तयारी गरिएको छ।

एमालेको यो बैठक पार्टी नेतृत्व, विधान संशोधन र भावी रणनीतिलाई लिएर निर्णायक बन्न सक्ने अनुमान गरिएको छ।