
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रूसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग बिहीबार भएको टेलिफोन वार्तालाप धेरै प्रगतिशील भएको बताएका छन्। दुबै नेताले हंगेरीमा आमनेसामने भेट गर्ने सहमति जनाएका छन्।
ट्रम्पले यो फोन कल जो अगस्टपछि पुटिनसँग भएको कुराकानी हो । कराकानी अत्यन्तै उत्पादक भएको भन्दै वाशिंगटन र मस्कोका टोलीहरू आगामी हप्ता भेट्ने बताएका छन्।
ट्रम्पले बुडापेस्टमा हुने आफ्नो बैठकको मिति भने पुष्टि गरेका छैनन्। क्रेमलिनले भने फोन कल अत्यन्तै खुला र विश्वासयोग्य भएको बताउँदै शिखर बैठकको तयारी तुरुन्तै सुरु हुने जनाएको छ।
यो वार्ता युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेंस्कीले ह्वाइट हाउस भ्रमण गर्नु अघि भएको हो।
यसैबीच ट्रम्पले युक्रेनलाई टमाहक मिसाइलहरू जसले रुसको भित्री भूभागसम्म प्रहार गर्न सक्छन् यो दिनेबारे विचार गरिरहेका छन् । अमेरिका पुगेपछि राष्ट्रपति जेलेंस्कीले भने मस्कोले टमाहकको कुरा सुनेपछि छिटो संवाद पुनः सुरु गर्न आतुरता देखाएको छ।
वार्ता सकिएपछि ट्रम्पले सामाजिक प्लेटफर्ममा लेख्दै भने “हामीले युक्रेन युद्ध सकिएपछि रूस अमेरिका बीचको व्यापारबारे धेरै समय छलफल गर्यौं।”
ट्रम्पका अनुसार दुबै देशका उच्चस्तरीय सल्लाहकारहरू अर्को हप्ता अनिर्दिष्ट स्थानमा भेट्नेछन् जसमा अमेरिकी पक्षको नेतृत्व विदेशमन्त्री मार्को रुबियोले गर्नेछन्। ट्रम्पले थपे “म भोलि राष्ट्रपति जेलेंस्कीलाई पुटिनसँगको वार्ताबारे जानकारी दिनेछु। आजको फोन वार्ताले ठूलो प्रगति भएको विश्वास छ।”
पछिल्लो समय पत्रकारहरूसँग कुरा गर्दै ट्रम्पले आफू दुई हप्ताभित्र पुटिनसँग भेट हुने अपेक्षा रहेको बताए।
फोन कलपछि युक्रेनलाई टमाहक मिसाइल दिने सम्भावनाबारे सोधिँदा ट्रम्पले भने “हामी आफ्ना मिसाइल भण्डारहरू खाली गर्न सक्दैनौं। ती हामीलाई पनि चाहिन्छ त्यसैले त्यसबारे के गर्न सकिन्छ, म निश्चित छैन।”
अमेरिकास्थित युक्रेनी राजदूत ओल्गा स्टेफानिसिनाले भने पुटिनको ट्रम्पसँगको फोन वार्ताको केही घण्टा अगाडि नै रुसले युक्रेनमाथि आक्रमण गरेको जनाउँदै भनिन् “यसले मस्कोको शान्ति प्रतिको वास्तविक दृष्टिकोण प्रष्ट देखाउँछ।”
उनी भन्छिन् “यी आक्रमणहरूले देखाउँछ कि मस्कोको रणनीति आतंक र थकावटको हो। यसको एकमात्र प्रभावकारी उत्तर कडा प्रतिबन्ध, हवाई सुरक्षाको सुदृढीकरण, र लामो दूरीका हतियार आपूर्तिबाट मात्र सम्भव छ।”
हंगेरीका प्रधानमन्त्री भिक्टर ओर्बानले एक्समा लेखे, “बुडापेस्ट बैठकको योजना संसारका शान्तिप्रेमीहरूका लागि उत्कृष्ट समाचार हो।”
ओर्बानले यसअघि भनेका थिए “शान्तिका लागि धैर्य, शक्ति र नम्रता आवश्यक हुन्छ। युरोपले आफ्नो दृष्टिकोण परिवर्तन गर्नुपर्छ। अहंकार र अनन्त युद्धलाई उक्साउने सट्टा, हामीलाई रूससँग वार्ता चाहिन्छ। केवल संवादले मात्र हाम्रो महादेशमा शान्ति ल्याउन सक्छ।”
ट्रम्पले गत अगस्टमा अलास्कामा भएको शिखर बैठकपछि पुटिनप्रति आफ्नो नीति कडा बनाएका छन्। उक्त बैठकले युक्रेन युद्ध अन्त्यका लागि निर्णायक सफलता भने दिलाउन सकेको थिएन।
दुवै नेताहरू १५ अगस्टमा अमेरिकामा भेट भएका थिए । जसमा ट्रम्पले पुटिनलाई व्यापक शान्ति वार्तामा सहभागी गराउने आशा गरेका थिए। रूसले २०२२ फेब्रुअरीमा युक्रेनमाथि पूर्ण आक्रमण गरेको थियो।
त्यसपछि ट्रम्पले जेलेंस्की र युरोपेली नेताहरूसँगको बैठक बीचमै रोक्दै पुटिनलाई फोन गरेका थिए। त्यसपछि न त ह्वाइट हाउस न त क्रेमलिनले कुनै संवाद सार्वजनिक गरेका थिए।
राष्ट्रपतिमा फर्किएपछि ट्रम्पले प्रारम्भिक चरणमा दाबी गरेका थिए कि उनी केही दिनभित्रै युक्रेन युद्ध अन्त्य गर्न सक्छन्, तर पछि उनले स्वीकारे कि यो संघर्ष समाधान गर्नु आफूले सामना गरेका सबैभन्दा कठिन चुनौतीहरूमध्ये एक हो।
उनको प्रशासन प्रारम्भमा रूसप्रति केही नरम देखिएको थियो तर पछिल्ला महिनाहरूमा ट्रम्प र जेलेंस्कीबीचको सम्बन्ध उल्लेखनीय रूपमा सुधारिएको छ।
गत सेप्टेम्बरमा ट्रम्पले आफ्नो दृष्टिकोण परिवर्तन गर्दै भनेका थिए “म विश्वास गर्छु, युक्रेनले आफ्नो पुरानो भूभाग पूर्ण रूपमा फिर्ता लिन सक्छ,” जुन अघिल्ला समयमा उनले रूसद्वारा कब्जा गरिएका भूमिहरू त्याग्न युक्रेनलाई सुझाएका धारणा भन्दा विपरीत हो।
जेलेंस्कीले शुक्रबार वाशिंगटनमा जनवरीदेखि हुने भ्रमण उनको तेस्रो भ्रमण हुनेछ र टमाहक मिसाइलको विषय प्रमुख एजेन्डामा हुने बताएका छन्।
युक्रेनले अमेरिका सँग २ हजार ५ सय किमी दायरा पुग्ने टमाहक मिसाइल माग गर्दै आएको छ।
यस हप्ता अघि ट्रम्पले भनेका थिए “हेरौं सायद दिनेछौं, सायद नदिने पनि हुन सक्छ।”