शनिबार, ७ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
राजनीति

‘नेपाली सेनाले राजनीति गर्दैन, अवस्था सामान्य पार्न मात्रै भूमिका खेलेका हौं’

जेनजी आन्दोलनमा मारिने २२ जना मात्रै प्रदर्शनकारी
सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · शुक्रबार, ३१ असोज, २०८२ मा प्रकाशित
‘नेपाली सेनाले राजनीति गर्दैन, अवस्था सामान्य पार्न मात्रै भूमिका खेलेका हौं’
काठमाडौं, असोज ३१ :

 नेपाली सेनाले आफूहरू राजनीति नगर्ने स्पष्ट पारेको छ । शुक्रबार जंगी अड्डामा आयोजित पत्रकार सम्मेलनमा बोल्दै सैनिक अधिकारीहरूले जेनजी आन्दोलनपछिको अवस्थालाई सम्हाल्न गरिएको हस्तक्षेप शान्ति सुरक्षा कायम गर्न मात्र भएको दाबी गरे ।

पत्रकार सम्मेलनमा बोल्दै युद्ध कार्य विभाग प्रमुख उपरथी अनुपजंग थापाले नेपाली सेनाले अवस्था थप जटिल नबनियोस् भन्ने उद्देश्यले मात्र आवश्यक पहल गरेको बताए ।

सिंहदरबार जोगाउन परेको भए ठूलो क्षति हुन सक्थ्यो

उपरथी थापाले आन्दोलन उत्कर्षमा पुग्दा सिंहदरबार लगायतका संरचनाहरू जोगाउनुपर्ने अवस्था आएको उल्लेख गर्दै भने, ‘त्यो अवस्थामा ठूलो मानवीय क्षति हुने जोखिम थियो । त्यसकारण हामीले सबै पक्षसँग छलफल गरेर शान्तिपूर्ण निकास खोज्यौं ।’

उनले भदौ २४ को राति सेनाले जे प्रयास गर्‍यो, त्यो नगरेको भए स्थिति भयंकर हुन सक्ने चेतावनी पनि दिए । ‘विश्वका विभिन्न देशमा देखिएका अन्य मोडलअनुसार कुरा अगाडि बढेको भए के हुन्थ्यो भनेर एक क्षण सोच्नुपर्छ,’ उनले भने ।

जेनजी आन्दोलनमा मारिने २२ जना मात्रै प्रदर्शनकारी

नेपाली सेनाले आन्दोलनका क्रममा मृत्यु भएका ७६ जनामध्ये २२ जना मात्रै जेनजी प्रदर्शनकारी भएको स्पष्ट पारेको छ । बाँकी ३ जना नेपाल प्रहरी, १० जना कैदीबन्दी, ४१ जना अन्य रहेको सेनाको रिपोर्टमा उल्लेख छ । त्यसमध्ये १२ जनाको सनाखत अझै हुन बाँकी छ । २३ गते गोली लागेर सडकमा ढलेका र अस्पतालमा मृत्यु भएका मध्ये २२ जना प्रदर्शनकारी थिए, सेनाले स्पष्ट पारेको छ ।

६१ जना भीआईपीको उद्धार

गत भदौ २४ गते जेन-जी आन्दोलनमा नेपाली सेनाले हेलिकप्टरबाट नेतासहितका ६१ जना भीआईपीको उद्धार गरेको जनाएको छ ।मन्त्रीहरूको सरकारी निवास भैंसेपाटी, प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार र राष्ट्रपतिको कार्यालय शीतल निवाससहितका स्थानबाट ६१ जना विशिष्ठ व्यक्ति र तिनका परिवारको उद्धार गरिएको जनाएको छ ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार