काठमाडौं, कात्तिक २ :

अमेरिकाभर राष्ट्रपति डोनाल्ड ट्रम्पको नीतिविरुद्ध हजारौँ मानिस सडकमा ओर्लिएका छन्।

न्यूयोर्क, वाशिङ्टन डीसी, सिकागो, मियामी र लस एन्जलससहितका सहरहरूमा ठूला प्रदर्शनहरू भएको छ। न्यूयोर्क सिटीको प्रसिद्ध टाइम्स स्क्वायरमा शनिबार बिहानैदेखि हजारौँ प्रदर्शनकारी जम्मा भएका थिए। सडक र मेट्रो प्रवेशद्वारहरू  लोकतन्त्र, राजतन्त्र होइन र संविधान वैकल्पिक होइन जस्ता नारा लेखिएका प्लेकार्ड बोकेका  प्रदर्शनकारीहरुले भरिएका थिए।

प्रदर्शन अघि ट्रम्पका समर्थकहरूले प्रदर्शनकारीहरूलाई फर-लेफ्ट एन्टिफा समूहसँग जोडिएको भन्दै आरोप लगाएका थिए र यसलाई अमेरिकाविरुद्धको घृणाको प्रदर्शन भनेका थिए। तर आयोजक र सहभागीहरूले सबै कार्यक्रमहरू शान्तिपूर्ण भएको बताएका छन्।

नो किंग्स नामक समूहले आफ्नो वेबसाइटमा अहिंसा नै आफ्नो प्रमुख सिद्धान्त भएको उल्लेख गरेको छ र सम्भावित झगडा वा तनाव कम गर्न सहभागीहरूलाई आग्रह गरेको छ।

न्यूयोर्कममा भीडमा यो हो लोकतन्त्रको स्वरूप भन्ने नारा निरन्तर गुञ्जिरहेको थियो।  ढोल,घण्टी र अन्य आवाज युक्त उपकरणहरू बजाइएका थिए।

आकाशमा हेलिकप्टर र ड्रोन उडिरहेका थिए र प्रहरी  तैनाथ थिए।

न्यूयोर्क प्रहरी विभागका अनुसार सहरका पाँच वटै जिल्ला मिलाएर करिब एक लाख बढी मानिसले शान्तिपूर्ण रूपमा प्रदर्शन गरेका थिए र कुनै पक्राउ गरिएको छैन । टाइम्स स्क्वायरमा मात्रै करिब २० हजार मानिस ७औँ एवेन्युअलम्बी मार्च गरिरहेका थिए।

स्वतन्त्र लेखिका बेथ जास्लोफ पनि प्रदर्शनमा सहभागी थिईन् । उनले आफू फासिवाद र अधिनायकवादतर्फ भइरहेको सत्ताको धक्का विरुद्ध प्रदर्शनमा सहभागी भएको बताइन्। उनले भनिन्, “म न्यूयोर्क सिटीलाई माया गर्छु र यहाँ यति धेरै मानिसहरूलाई देख्दा आशा जाग्छ।”

इटालीमा हुर्केका र हाल न्यु जर्सी निवासी ६८ वर्षीय मास्सिमो मस्कोलीले भने “म मेरो मामाको सम्झनामा आएको छु। उनले मुसोलिनीको सेनाबाट भागेर प्रतिरोध आन्दोलनमा सामेल भएका थिए। उनी फासिस्टहरूले यातना दिएर मारेका थिए। ८० वर्षपछि फेरि अमेरिकामा त्यही फासिवाद फर्किँदैछ भन्ने मैले सोचेको थिइनँ।”

उनले ट्रम्प प्रशासनको आप्रवासन नीति र स्वास्थ्य सेवामा गरिएको कटौतीलाई लिएर चिन्ता व्यक्त गरे। “अहिले संसद,सरकार र सर्वोच्च अदालत सबै जनताको पक्षमा छैनन्। त्यसैले हामी सडकमा छौं,” उनले भने।

न्यूयोर्कका डेमोक्र्याट सिनेटर चक सुमर पनि प्रदर्शनमा सहभागी भए। उनले एक्समा लेखेका छन् “हामीकहाँ राजाहरू हुँदैनन्। हामी ट्रम्पलाई हाम्रो लोकतन्त्र नष्ट गर्न दिँदैनौं।”

वाशिङ्टन डीसीमा सेनटर बर्नी स्यान्डर्सले हजारौँ भीडलाई सम्बोधन गर्दै भने,“हामी यहाँ अमेरिकालाई माया गर्छौं, त्यसैले आएका हौं, घृणाका कारण होइन।”

 

युरोपका बर्लिन, म्याड्रिड, र रोममा पनि ऐक्यबद्धतामा प्रदर्शनहरू भएका छन्। लन्डनमा सयौँ मानिस अमेरिकी दूतावासअगाडि जम्मा भए भने, क्यानडाको टोरन्टोमा पनि प्रदर्शनकारीहरूले ह्यान्स अफ क्यानाडा लेखिएका ब्यानरहरू लहराए।

फक्स न्युजसँगको एक अन्तर्वार्तामा ट्रम्पले भनेका थिए “उनीहरूले मलाई राजा भनेर आरोप लगाइरहेका छन्। म राजा होइन।”

क्यान्ससका सिनेटर रोजर मार्शलले भने, “राष्ट्रिय गार्ड निकाल्नुपर्ने हुन सक्छ। आशा छ, प्रदर्शन शान्तिपूर्ण रहोस्।”

टेक्ससका गभर्नर ग्रेग एबोटले एन्टिफा सम्बन्धी योजनाबद्ध प्रदर्शनको आशंकामा राष्ट्रिय गार्ड तयारी अवस्थामा राखेका थिए, जसको डेमोक्र्याटहरूले कडा विरोध गरे।

डीसीमा प्रहरीको उपस्थिति रहे पनि गार्डका सैनिक देखिएनन्। एक प्रदर्शनकारीले आई एम एन्टिफा लेखिएको बोर्ड बोकेका थिए र भने “यसको अर्थ शान्ति, स्वास्थ्य, र समानताको पक्षमा हुनु हो।”

हालैको रायटर्स/इप्सोस सर्वेक्षण अनुसार राष्ट्रपति ट्रम्पको कार्यसम्पादनप्रति केवल ४० प्रतिशत अमेरिकीहरूले समर्थन जनाएका छन् भने ५८ प्रतिशतले असन्तुष्टि व्यक्त गरेका छन्। यो उनको पहिलो कार्यकालको औसत अनुमोदन दरसँग मिल्दोजुल्दो भए पनि जनवरीमा दोस्रो पटक पदभार सम्हाल्दा रहेको ४७ प्रतिशत अनुमोदन दरभन्दा कम हो।

राष्ट्रपतिहरूको लोकप्रियता कार्यकाल बित्दै जाँदा घट्ने सामान्य कुरा हो। रायटर्स/इप्सोसका अनुसार जो बाइडनको पनि जनवरी २०२१ मा अनुमोदन दर ५५ प्रतिशत थियो जुन सो वर्षको अक्टोबरसम्म घटेर ४६ प्रतिशतमा पुगेको थियो।

बीबीसी