
फाइल तस्बिर ।
मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई काठमाडौं उपत्यकाका तीनै जिल्लाका प्रमुख जिल्ला अधिकारी (सीडीओ) र प्रहरी प्रमुखहरूले आइतबार जिल्ला प्रशासन कार्यालय काठमाडौंमा बोलाएर छलफल गरेका छन्।
काठमाडौंका सीडीओ इश्वरराज पौडेलका अनुसार छठ पर्वपछि प्रसाईंले आन्दोलन गर्ने बताएका समाचार सार्वजनिक भएपछि प्रशासन र सुरक्षापालक निकायहरूले संयुक्त रुपमा छलफलका लागि उनलाई बोलाएका थिए।
बैठकमा प्रसाईंले पछिल्ला दिनमा दिएका अभिव्यक्तिहरू र सामाजिक सञ्जालमा प्रसारित सामग्रीबारे पनि चर्चा गरिएको पौडेलले जानकारी दिए।
प्रसाईंसँग आगामी आन्दोलनका बारेमा पनि सोधिएको जनाउँदै सीडीओ पौडेलले भने, ‘उनले अहिलेका लागि कुनै आन्दोलन कार्यक्रम नरहेको बताए।’
यद्यपि उनले असोज १५ गतेदेखि राजमार्ग समेत ठप्प पार्ने गरी देशव्यापी आन्दोलन गर्ने भनी सामाजिक सञ्जालमा दिएका अभिव्यक्तिले मानिसलाई अब फेरि के हुन्छ कि भन्ने त्रास उत्पन्न गराएको छ ।
छलफलमा काठमाडौं, ललितपुर र भक्तपुरका सीडीओहरू तथा तीनै जिल्लाका प्रहरी प्रमुखहरूको उपस्थिति थियो।