
पश्चिमी वायुको साथै अरब सागरमा बनेको न्यून चापीय प्रणालीको प्रभावका कारण आज (सोमबार) रातिदेखि देशका विभिन्न भू–भागमा वर्षासँगै हिमपात हुने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
महाशाखाले जारी गरेको विशेष बुलेटिनका अनुसार आज रातिदेखि पर्सि (बुधबार) बिहानसम्म देशका विभिन्न स्थानहरूमा हल्कादेखि मध्यम वर्षा र हिमपात हुन सक्ने अनुमान गरिएको हो।
विशेषगरी गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका केही स्थानहरूमा तथा बाँकी प्रदेशका पहाडी र हिमाली भू–भागका थोरै स्थानहरूमा वर्षासँगै हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ। साथै, गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली क्षेत्रका एक–दुई स्थानमा भारी हिमपात समेत हुन सक्ने चेतावनी दिइएको छ।
सम्भावित वर्षा र हिमपातका कारण दैनिक जनजीवन, पर्वतारोहण, कृषि र पर्यटनलगायत क्षेत्र प्रभावित हुन सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।