
मनाङमा निरन्तर हिमपात रोकिएसँगै मौसम सुधार हुन थालेको छ। हिमपातका कारण तिलिचो ताल र थोराङ्ला पासतर्फ गएका पर्यटक बुधबार बिहानदेखि फर्किन थालेका छन्। अहिले मौसम खुल्दै गएको छ। केही पर्यटक खाङ्सारमै होमस्टेमा बसेर बाटो खुल्ने पर्खाइमा छन्।
होटल व्यवस्थापन समिति माथिल्लो मनाङका अध्यक्ष कर्म ओङ्गेल घलेका अनुसार बुधबार बिहानदेखि धेरैजना चामेतर्फ फर्किएका छन्।
एक्याप मनाङका रेन्जर प्रकाश अधिकारीका अनुसार हिमपात रोकिएको छ तर विदेशी पर्यटकलाई थोराङ्ला र तिलिचोतर्फ जान रोक लगाइएको छ। उनका अनुसार बिहीबारदेखि पुनः हिमपातको सम्भावना देखिएको छ।
डीएसपी हरि पौडेलले खाङ्सारमा रहेका करिब चार सय पर्यटकलाई तल्लो क्षेत्र फर्काउने काम भइरहेको बताए। कुनै पर्यटक अस्वस्थ नभएको उनले जानकारी दिए।
प्रमुख जिल्ला अधिकारी नवराज पौड्यालका अनुसार खाङ्सारसम्मको सडक दिउँसोसम्म खुल्ने अपेक्षा गरिएको छ। उनले मनाङदेखि बेंसीसहरसम्म पर्यटकलाई झार्न जिप र मिनीबस पठाइएको जानकारी दिए।