काठमाडौं, कात्तिक १२ :

 जेनजी आन्दोलनका क्रममा भएको क्षतिपूर्तिमा बिमा कम्पनीहरूले हालसम्म करिब पौने ३ अर्ब रुपैयाँ अग्रिम भुक्तानी गरेका छन्।

बिमा प्राधिकरणका अनुसार सरकारले बीमितलाई राहतस्वरूप दाबी रकमको ५० प्रतिशतसम्म अग्रिम भुक्तानी गर्न निर्देशन दिएपछि बीमा कम्पनीहरूले २ अर्ब ७९ करोड ७४ लाख रुपैयाँ वितरण गरेका हुन्।

सरकारले गत २३ र २४ भदौमा भएको जेनजी आन्दोलनका क्रममा आगजनी, तोडफोड र अन्य क्षतिपछि बीमितलाई सहजताका लागि अग्रिम भुक्तानीको व्यवस्था गर्न निर्देशन दिएको थियो।

प्राधिकरणका अनुसार हालसम्म उक्त आन्दोलनका कारण क्षति पुगेको भन्दै बिमितहरूले २३ अर्ब २३ करोड ३७ लाख रुपैयाँ बराबर दाबी गरेका छन्। यीमध्ये १८ निर्जीवन बीमा कम्पनीमध्ये १५ कम्पनीले मात्र अग्रिम भुक्तानी गरेका हुन्।

सबैभन्दा बढी दाबी सिद्धार्थ प्रिमियर इन्स्योरेन्समा परेको छ। सो कम्पनीले ५ अर्ब ४९ करोड रुपैयाँ बराबरको दाबीमध्ये १ अर्ब २८ करोड रुपैयाँ अग्रिम भुक्तानी गरेको छ। त्यसपछि द ओरिएन्टल इन्स्योरेन्समा ५ अर्ब २४ करोड रुपैयाँ बराबरको दाबी परे पनि कम्पनीले १ करोड ६६ लाख रुपैयाँ मात्र अग्रिम भुक्तानी गरेको प्राधिकरणले जनाएको छ।

उता राष्ट्रिय बिमा कम्पनी, नेसनल इन्स्योरेन्स कम्पनी र स्टार माइक्रो इन्स्योरेन्स कम्पनीले अहिलेसम्म कुनै पनि अग्रिम भुक्तानी नगरेको प्राधिकरणको तथ्यांकले देखाउँछ।

प्राधिकरणका अनुसार जेनजी आन्दोलनमा क्षति भएका ३ हजार १ सय ८७ बीमित मध्ये ६७३ सम्पत्ति बिमा, २ हजार २७० मोटर बीमा, १९२ इन्जिनियरिङ तथा ठेकेदार बीमा, १२ परिवहन बीमा र ४० अन्य बिमाका दाबी दर्ता भएका छन्।

क्षतिपूर्तिको हिसाबले सबैभन्दा धेरै माग सम्पत्ति बिमामा परेको छ, जसको दाबी रकम १९ अर्ब १ करोड रुपैयाँ पुगेको प्राधिकरणले जनाएको छ।प्रदेशगत हिसाबमा बागमती प्रदेशबाट सबैभन्दा धेरै दाबी परेको छ। सो प्रदेशबाट मात्रै १७ अर्ब ६१ करोड रुपैयाँ बराबरको दाबी दर्ता भएको छ।