
सशस्त्र प्रहरी बल नेपाल ३३ नं गुल्म हेडक्वाटर मुस्ताङका सुरक्षाकर्मीद्वारा आज बिहान मुक्तिनाथ मन्दिरको हिउँ पन्छ्याएको छ । मुक्तिनाथ विकास समितिका कोषाध्यक्ष प्रमेश गुरुङको उपस्थितीमा सशस्त्र प्रहरीले मुक्तिनाथ मन्दिरको हिउँ पन्छ्याइएको हो ।
मङ्गलबार बिहानदेखि मुक्तिनाथक्षेत्रमा भारी हिमपात भएको थियो । हिमपातका कारण मुक्तिनाथ मन्दिर पुरै हिउँले ढाकिएको थियो । बाक्लो हिउँ परेका कारण मुक्तिनाथ परसर तथा परिसरका अवस्थित दुई वटा स्नानकुण्डसमेत हिउँले ढाकिएको थियो । यसैगरी झक्तजनले सेचन गर्ने १०८ धारा आसपाससमेत बाक्लो हिउँ जमेका कारण भक्तजनलाई नुहाउन कठिनाई उत्पन्न भएको थियो ।
मुक्तिनाथ क्षेत्रमा मंगलबार दिनभर बाक्लो हिउँ परेको थियो । हिमपातका कारण मुक्तिनाथ बसपार्कदेखि मुक्तिनाथ मन्दिरसम्मको पैदलमार्गमा बाक्लो हिउँ जमेको थियो । पैदलमार्गमा हिउँ जमेपछि मुक्तिनाथ दर्शन गर्न जाने दर्शनार्थी समस्यामा परेका थिए ।
आज मौसम खुलेसँगै सशस्त्र प्रहरी निरीक्षक सुरज श्रेष्ठको कमाण्डमा गएको ११ जना सशस्त्र प्रहरीको टोलीले मुक्तिनाथ मन्दिर परिसर र मुक्तिनाथ जाने पैदलमार्गमा जमेको हिउँ पन्छ्याएको सशस्त्र प्रहरी बल नेपाल ३३ नं गुल्म हेडक्वाटरका सशस्त्र प्रहरी नायब उपरीक्षक भेषराज गिरीले जानकारी दिए । मुक्तिनाथ विकास समितिका प्रतिनिधि प्रमेश गुरुङको उपस्थितीमा सशस्त्र प्रहरी टोली घरेलु उपकरण कुटो,कोदालो, सावेल प्रयोग गरी मुक्तिनाथ क्षेत्रको हिउँ पन्छ्याएको सशस्त्र प्रहरी नायब उपरीक्षक गिरीको भनाइ छ ।