गोरखा, कात्तिक १८ :

प्रधानमन्त्री सुशीला कार्कीलगायतका व्यक्तिविरुद्ध विवादास्पद अभिव्यक्ति दिँदै आएका डा. निकोलश भुसाललाई प्रहरीले गोरखाबाट पक्राउ परेका छन् । काठमाडौं प्रहरीको टोलीले उनलाई गोरखाबाट पक्राउ गरेको हो । भुसालले सामाजिक सञ्जालमा अराजक अभिव्यक्ति दिएर हिंसा भड्काउन खोजेको भन्दै प्रहरीले निगरानीमा राखेको थियो ।

उपत्यका प्रहरी प्रमुख एआईजी दानबहादुर कार्कीका अनुसार उनलाई काठमाडौं ल्याएर अदालत उपस्थित गराएर थप अनुसन्धान गरिने छ ।

भदौ २३ र २४ को जेनजी आन्दोलनमा गोली चलाउन आदेश दिने  तत्कालीन प्रधानमन्त्री र गृहमन्त्रीलाई गृह प्रशासनले पक्राउ नगरेको भन्दै उनले विरोध जनाउँदै आएका थिए।

माइतीघर मण्डलामा प्रदर्शन गर्न पुगेका बेला उनी २३ असोजमा पक्राउ परेका थिए। अनुमति नलिई प्रदर्शनमा उत्रिएपछि प्रहरीले पक्राउ गरेको थियो भने त्यसपछि उनी गृहमन्त्री अर्यालविरुद्ध खरो टिप्पणी गर्दै आएका छन्।

माइतीघर मण्डलाबाट पक्राउ परेका बेला उनले गाँजा सेवन गरेको पाइएपछि प्रहरीले सुधार गृहमा पठाएको थियो। त्यसपछि उनले वर्तमान सरकारका गृहमन्त्रीविरुद्ध झन् उग्र अभिव्यक्ति दिन थालेका छन्।

यसअघि २९ मंसिर २०८१ मा रास्वपाका सभापति रवि लामिछाने हिरासतमा रहेका बेला सुतिरहेको तस्बिर खिचेर सार्वजनिक गरेको मुद्दामा उनी ५० हजार रुपैयाँ धरौटीमा छुटेका थिए ।