
करिब डेढ महिनापछि ड्राइभिङ लाइसेन्स पुनः नागरिक एपमा उपलब्ध भएको छ। गत भदौ २४ गते यातायात व्यवस्था विभागमा भएको आगजनीका कारण एपमा उपलब्ध ड्राइभिङ लाइसेन्स सेवा स्थगित भएको थियो।
मंगलबारदेखि सेवा पुनः सुचारु भएको यातायात व्यवस्था विभागका निर्देशक केशव खतिवडाले जानकारी दिए। उनका अनुसार लामो मिहिनेतपछि विभिन्न यातायात व्यवस्था कार्यालयहरूमा सेवा सञ्चालनसँगै नागरिक एपमार्फत लाइसेन्स पुनः उपलब्ध गराउन सम्भव भएको हो।
विभागको भवनसमेत आगजनीबाट क्षति भएकाले अहिले कार्यालयले यात्रु प्रतिक्षालयबाट सेवा दिइरहेको छ। खतिवडाका अनुसार मंगलबारसम्म देशभरका ४२ वटा यातायात व्यवस्था कार्यालयमध्ये २८ वटामा लाइसेन्स नवीकरण सेवा सञ्चालनमा आएको छ।
हाल नयाँ ड्राइभिङ लाइसेन्सका लागि आवेदन भने खुला गरिएको छैन। खतिवडाका अनुसार यो सेवा सुरु हुन अझै एक–दुई दिन लाग्ने सम्भावना छ।