काठमाडौं, कात्तिक २३ :

चिकित्सा शिक्षा सुधारका अभियन्ता डा. गोविन्द केसीले विगतमा स्वार्थ समूहको चलखेलबाट गरिएका निर्णय उल्टाउन सरकारसमक्ष माग गरेका छन् ।

आइतबार सिंहदरबारमा प्रधानमन्त्री सुशीला कार्कीलाई सिंहदरबारमा भेटेर डा. केसीले विगतमा व्यवसायीको स्वार्थमा मेडिकल कलेजको सिट बढाएको दाबी गर्दै उक्त निर्णय उल्टाउनुपर्ने माग गरेका हुन् । सो क्रममा डा. केसीले आफ्नो १० बुँदे ज्ञापनपत्र बुझाउदै विभिन्न स्वार्थ समूहहरुको चलखेलका कारण धेरै सुधारका कामहरु टुंगोमा पुग्न नसकेको समेत बताए ।

उनले गेटा मेडिकल विश्वविद्यालयमा कुनै दल वा स्वार्थ समूहको स्वार्थ हावी हुन नदिई योग्य पदाधिकारीहरु छनोट गरी शीघ्र अस्पतालको सेवा बिस्तार गर्ने तथा एमबीबीएस कार्यक्रम अघि बढाउनका लागि आवश्यक काम गर्न माग गरेका छन् भने विश्वविद्यालय र प्रतिष्ठानहरुमा नियुक्त हुने पदाधिकारीहरुको मापदण्डसहितको उच्च शिक्षा विधेयकलाई अध्यादेशका रुपमा जारी गर्न सुझाव दिए ।

त्यसैगरि सबै संस्थाहरुमा चिकित्सा शिक्षाको स्नातकोत्तर तहको निर्वाह भत्ता निःशर्त नेपाल सरकारको आठौं तहको सरह हुने व्यवस्था गर्नुपर्ने डा. केसीको माग छ ।

निर्मला कुर्मीलाई बेपत्ता पारेर हत्या गर्ने व्यक्तिको राजनीतिक पहुँचका कारण यस अघिका सरकारले निरन्तर उन्मुक्ति दिएको भन्दै उनले तुरुन्त निष्पक्ष अनुसन्धान गरी अपराधीलाई न्यायको कठघरामा खडा गर्न समेत माग गरे ।

प्रधानमन्त्री कार्की, गृहमन्त्री ओमप्रकाश अर्याल, शिक्षामन्त्री महावीर पुन, स्वास्थ्य मन्त्री डा. सुधा गौतम र चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष डा. अञ्जनी झासमेतको उपस्थितिमा डा. केसीले उठाएका विषयमा छलफल भएको प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ ।