
मधेश प्रदेशमा नयाँ मुख्यमन्त्री नियुक्तिको विषयले राजनीतिक तनाव चरम रूप लिएको छ । प्रदेश प्रमुखद्वारा नेकपा (एमाले) संसदीय दलका नेता सरोजकुमार यादवलाई रातारात होटलमा मुख्यमन्त्री पदको शपथ ग्रहण गराइएको घटनापछि प्रदेशभर विरोध प्रदर्शन चर्किएको छ ।
मुख्यमन्त्री कार्यालयमा आज बिहान असन्तुष्ट दलका नेता–कार्यकर्ताहरु तोडफोड र कुटपिटमा उत्रिएका छन् । कार्यकक्षमा रहेका कर्मचारीमाथि समेत आक्रमण भएको भिडियो सार्वजनिक भएको छ । भिडियोमा एक पुरुष कर्मचारीले रेकर्ड फाइल जोगाउन खोज्दा आक्रोशित भिडले उनको टाउकोमा मुक्का प्रहार गरेको देखिन्छ । पछि उनका एक सहकर्मीले उनलाई भिडबाट बचाएर बाहिर निकालेका थिए ।
प्रदेश प्रमुख र मुख्यमन्त्रीको कार्यालयमा तोडफोड हुनुका साथै प्रदर्शनकारीहरूले मधेश भवन अगाडि टायर बालेर प्रदर्शन गरेका छन् । तोडफोडका क्रममा एक सांसदले राष्ट्रिय झन्डा समेत निकालेर फालेको भिडियो पनि सार्वजनिक भएको छ ।
विवादको जड के हो ?
आइतबार तत्कालीन मुख्यमन्त्री जितेन्द्र सोनल (लोसपा) ले बहुमत नपुगेपछि राजीनामा दिएका थिए । त्यसपछि सात दलीय गठबन्धन नेपाली कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी, लोकतान्त्रिक समाजवादी पार्टी, जनता समाजवादी पार्टी, जनमत र नागरिक उन्मुक्ति पार्टीले संविधानको धारा १६८(२) अनुसार नयाँ सरकार गठनको माग गरेका थिए ।
तर प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले सोमबार बिहानै महोत्तरीको बर्दिबासस्थित होटल पानसमा संविधानको धारा १६८(३) बमोजिम एमाले नेता सरोजकुमार यादवलाई मुख्यमन्त्री नियुक्त गराइन् । उनले त्यही होटलमा शपथग्रहणसमेत गराएकी थिइन् ।
यस घटनापछि मधेश प्रदेशको राजनीति तरंगित बनेको छ । असन्तुष्ट दलहरूले प्रदेश प्रमुखको निर्णयलाई संविधानविपरीत र लोकतान्त्रिक मूल्य–मान्यताको अपमान भनेका छन् ।
निवर्तमान मुख्यमन्त्री सोनलले प्रदेश प्रमुखले “मधेश प्रदेशको अस्मिता लुटेको आरोप लगाएका छन् ।जनमत पार्टीका अध्यक्ष डा. सीके राउत ले यसलाई “मधेश स्वायत्त घोषणा गर्ने अवसर” का रूपमा व्याख्या गर्दै सडकमै प्रदेशसभा बैठक डाकेर स्वायत्त घोषणा गर्न आह्वान गरेका छन् ।
यसैबीच,कांग्रेस संसदीय दलका नेता कृष्णप्रसाद यादव का अनुसार सात राजनीतिक दलले संविधानको उल्लंघन गर्दै गरिएको नियुक्तिविरुद्ध सर्वोच्च अदालतमा रिट दायर गर्ने निर्णय गरेका छन् । उनका अनुसार सात दलका ७४ जना प्रदेशसभा सदस्य को हस्ताक्षरसहित रिट निवेदन तयार पारिएको छ ।
मधेशमा अहिले पनि तनाव कायमै छ । जनकपुरधामस्थित प्रदेश सरकारका कार्यालय वरिपरि कडा सुरक्षा व्यवस्था मिलाइएको छ भने दलका कार्यकर्ताहरूले निरन्तर विरोध जारी राखेका छन् ।