
सरकारले मधेश प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीलाई पदमुक्त गरी सुरेन्द्र लाभ कर्णलाई नयाँ प्रदेश प्रमुखका रूपमा नियुक्तिका लागि राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको छ। सोमबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय गरेको हो ।
सरकारका प्रवक्ता तथा सञ्चार, सूचना तथा प्रविधिमन्त्री जगदीश खरेलका अनुसार बैठकले नेपाल प्रहरीको महानिरीक्षक मा अतिरिक्त महानिरीक्षक दानबहादुर कार्कीलाई नियुक्त गर्ने निर्णय गरेको छ। साथै भू–उपयोग तेस्रो संशोधन नियमावली, २०८२ र राष्ट्रिय परिचयपत्र तथा पञ्जिकरण दोस्रो संशोधन नियमावली, २०८२ स्वीकृत गरिएको छ।
त्यसैगरी सरकारले भदौ २३ र २४ गतेका घटनाको जाँचबुझ आयोगका लागि निजामती सेवातर्फ ४ जना र नेपाल प्रहरीले ११ जना थप कर्मचारी उपलब्ध गराउने निर्णय पनि गरेको छ।
बैठकले २०८२ कात्तिक २६ देखि २८ गतेसम्म भारतको नयाँ दिल्लीमा आयोजना हुने नेपाल–भारत कोअर्डिनेशन बैठक (९औं संस्करण) मा सहभागी हुन सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालको संयोजकत्वमा प्रतिनिधिमण्डल पठाउने स्वीकृति दिएको छ।
यसका साथै, २०८२ फागुन १ देखि ७ गतेसम्म कर्णाली प्रदेशमा दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता आयोजना गर्न स्वीकृति प्रदान गरिएको छ।