
मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवको नियुक्ति र शपथविरुद्ध दायर रिटमाथि आइतबार हुने भनिएको सर्वोच्च अदालतको सुनुवाइ स्थगित भएको छ। आजका लागि तोकिएको सुनुवाइ भोलि सोमबारका लागि सारिएको सर्वोच्चले जनाएको छ।
रिटमाथिको सुनुवाइ न्यायाधीशद्वय तिलप्रसाद श्रेष्ठ र नृपध्वज निरौलाको संयुक्त इजलासमा तोकिएको थियो। अन्तरिम आदेशसम्बन्धी बहस भोलि हुनेछ।
मधेश प्रदेशमा पछिल्लो समय उत्पन्न राजनीतिक अस्थिरताबीच सबैभन्दा ठूलो दल नेकपा (एमाले)का संसदीय दलका नेता सरोजकुमार यादवको नेतृत्वमा सरकार बनेको छ।
तर तत्कालीन प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले यादवलाई महोत्तरी–सिन्धुली सिमानास्थित बर्दिबास–३ कालापानीको पानस होटलमा पुगेर शपथ गराएपछि विवाद चर्किएको हो। सोही नियुक्ति र शपथविरुद्ध असहमत ७४ जना सांसदले सर्वोच्च अदालतमा रिट दायर गरेका छन्।