
ऊर्जा तथा जलस्रोतमन्त्री कुलमान घिसिङले युवाहरूलाई स्वदेशमै बसेर आय-आर्जन र उद्यमशीलतामा लाग्न आग्रह गरेका छन्।
बुधबार गोकर्णेश्वर नगरपालिका–९, आरुबारीमा रहेको एक क्याफेको उद्घाटन गर्दै उनले देशको आर्थिक, सामाजिक र राजनीतिक विकासमा युवा पुस्ताको महत्वपूर्ण भूमिका रहने भन्दै स्वदेशमै अवसर खोज्न प्रेरित गरे। क्याफे उद्घाटनपछि मन्त्री घिसिङले आरुबारीमै निर्माण भइरहेको पानी ट्याङ्कीको पनि निरीक्षण गरेका थिए।
सो अवसरमा पूर्वसांसद तथा अर्थसमिति सभापति सन्तोष चालिसेले मुलुकमा बेरोजगारी बढिरहेको उल्लेख गर्दै युवालाई राज्यले आवश्यक सहुलियत, प्रोत्साहन र अवसर दिनुपर्ने बताए। उनले युवाप्रतिको सहयोग र हौसलामा आफू सधैँ साथ रहने प्रतिबद्धता व्यक्त गरे।
यसैगरी, गोकर्णेश्वर नगरपालिका मेयर दीपक रिसालले नगरपालिकाले युवालाई लक्षित गरी रोजगारमुखी तालिमहरू समय समयमा सञ्चालन गर्दै आएको उल्लेख गर्दै स्थानीय तहले युवालाई उद्यम र रोजगारीमा प्रोत्साहित गर्ने कामलाई निरन्तरता दिनुपर्नेमा जोड दिए ।