
काठमाडौं, मंसिर ५ :
आत्महत्या दुरुत्साहनको आरोपमा पक्राउ परेका चर्चित गायक तथा संगीतकार बाबुल गिरी धरौटीमा रिहा भएका छन्।
काठमाडौं जिल्ला अदालतले तीन लाख रुपैयाँ धरौटीमा रिहाइका लागि आदेश दिएपछि उनलाई बुधबार हिरासतबाट मुक्त गरिएको हो। गायिका नितु पौडेल मृत फेला परेपछि प्रहरीले गिरीमाथि अनुसन्धान अघि बढाएको थियो।
पौडेल परिवारले नितु र बाबुलबीच प्रेम सम्बन्ध रहेको र गिरीले विवाह गर्न अस्वीकार गरेपछि नितुले आत्महत्या गरेको दाबी गर्दै किटानी जाहेरी दिएका थिए । नितुले अनामनगरस्थित बाबुल गिरीकै स्टुडियोमा आत्मदाह प्रयास गरेकी थिइन्। उनलाई तत्काल उद्दार गरी कीर्तिपुरस्थित बर्न अस्पतालमा पुर्याइएकोमा उपचारकै क्रममा उनको मृत्यु भएको थियो ।