बिहीबार, १५ असोज २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#राइनो क्रुजसिप#पूर्णरुपमा क्षतिग्रस्त#सिंहदरबार वैद्यखाना#सीमा अपराध नियन्त्रण#सशस्त्र आईजीपी नारायणदत्त पौडेल#हिम्लुङ हिमपहिरो#विशेष अदालत#राष्ट्रिय प्रसारण लाइन#निजी क्षेत्रलाई विद्युत्#सुनका गरगहना#सामाजिक सञ्जाल#कर्मचारी#राष्ट्रिय सभा#विशेष समय#निर्वाचन आयोग#वार्षिक प्रतिवेदन #राइनो क्रुजसिप#पूर्णरुपमा क्षतिग्रस्त#सिंहदरबार वैद्यखाना#सीमा अपराध नियन्त्रण#सशस्त्र आईजीपी नारायणदत्त पौडेल#हिम्लुङ हिमपहिरो#विशेष अदालत#राष्ट्रिय प्रसारण लाइन#निजी क्षेत्रलाई विद्युत्#सुनका गरगहना#सामाजिक सञ्जाल#कर्मचारी#राष्ट्रिय सभा#विशेष समय#निर्वाचन आयोग#वार्षिक प्रतिवेदन
समाचार

विवाहपञ्चमी महोत्सवको तेस्रो दिन धनुष यज्ञ सम्पन्न

· शनिबार, ६ मंसिर, २०८२ मा प्रकाशित
विवाहपञ्चमी महोत्सवको तेस्रो दिन धनुष यज्ञ सम्पन्न
धनुषा, मंसिर ६ :

विवाहपञ्चमी महोत्सवअन्तर्गत तेस्रो दिन आज धनुष यज्ञ सम्पन्न भएको छ ।

जनकपुरधामको जानकी मन्दिरमा जारी सप्ताहव्यापी विवाहपञ्चमी महोत्सवको तेस्रो दिन आज भगवान् रामको स्वरुपमा रहेका किशोरले धनुष तोडेका हुन् ।

त्रेतायुगमा मिथिला नरेश राजर्षि जनकले आफ्नी छोरी जानकीको विवाहका लागि धनुष यज्ञ गरेको स्मरणमा यहाँ हरेक वर्ष महोत्सव हुँदै आएको छ । यस वर्ष पनि महोत्सवका कार्यक्रम सञ्चालनमा रहेका छन् भने त्यही क्रममा आज धनुष यज्ञ मनाइएको हो । त्रेतायुगमा राजा जनकले आफ्नी छोरी सीतासँग विवाह गर्नेले शिवको धनुषमा प्रत्यन्चा चढाउन सक्नुपर्ने प्रण लिएका थिए ।

त्यसका लागि आयोजित सभामा सहभागी अरु कसैले प्रत्यन्चा चढाउन नसकेपछि भगवान् रामले त्यो काम गर्न खोजेपछि धनुष तीन टुक्रा भएको इतिहास छ । त्यसपछि मात्रै सीता र रामबीच विवाह भएको वाल्मीकि रामायणमा उल्लेख रहेको छ । अब आइतबार राम मन्दिरमा तिलकोत्सव कार्यक्रम हुनेछ ।

तिलकोत्सव कार्यक्रममा जानकी मन्दिरका महन्थ रामतपेश्वर दास वैष्णव सीताका बुबा र राम मन्दिरका महन्थराम गिरी रामका बुबाको भूमिका निर्वाह गर्दै सम्धी मिलन गर्नेछन् ।

विवाहपञ्चमी महोत्सवका लागि जानकी मन्दिरलाई बेहुलीझैँ सिँगारिएको छ । विवाहपञ्चमी महोत्सव हेर्न नेपाल तथा भारतका साधुसन्तसहित लाखौँ श्रद्धालु जनकपुरधाम आउने गरेका छन् ।

सप्ताहव्यापी श्रीसीताराम विवाहपञ्चमी महामहोत्सवअन्तर्गत आज धनुष यज्ञ, आइतबार तिलकोत्सव, सोमबार मटकोर, मङ्गलबार स्वयंवर तथा शुभ विवाहोत्सव र मङ्सिर १० गते बुधबार अन्तिम दिन रामकलेवा गर्दै महोत्सव समापन गरिनेछ ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार