
इथियोपियाको उत्तर पूर्वी क्षेत्रमा रहेको एउटा ज्वालामुखी झन्डै १२ हजार वर्षपछि पहिलोपटक विस्फोट हुँदा बाक्लो धुवाँ ९ माइल उचाइसम्म फैलिएको टोउलुज भोल्केनिक एसएस एड्भाइजरी सेन्टरले जनाएको छ।
ओमान, यमन र पाकिस्तान हुदै भारतको राजधानी दिल्लीसम्म पुगेको छ। केही हजार वर्षदेखि निष्क्रिय रहेको भनिएको हैली गुब्बी ज्वालामुखी आइतबार बिहानदेखि सक्रिय भएर हजारौँ फिट उचाइसम्म खरानी उडाउँदै विस्फोट भएको हो।
हैली गुब्बी नामक यो ज्वालामुखी इथियोपियाको अफार क्षेत्रमा एडिस अबाबाबाट करिब ५ सय माइल उत्तर पूर्वतर्फ इरिट्रियासँगको सीमावारि आइतबार केही घण्टासम्म सक्रिय भएर विस्फोट भएको हो।
भारतमा खरानीको प्रभावका कारण धेरै अन्तर्राष्ट्रिय तथा आन्तरिक उडानहरू रद्द, ढिला वा मार्ग परिवर्तन गरिएको छ।
खरानीको प्रदूषण स्तर कति छ भन्ने स्पष्ट छैन, विशेषज्ञहरूले भने, तर यसले दिल्लीको हावाको गुणस्तरमा प्रभाव पार्ने सम्भावना कम छ। मंगलबार सार्वजनिक गरिएको सरकारी मापन अनुसार दिल्लीको वायु गुणस्तर धेरै खराब श्रेणीमा थियो।
ज्वालामुखी खरानी भनेको विस्फोटका क्रममा वातावरणमा फैलिने सूक्ष्म र घर्षणयुक्त कणहरूको बादल हो। यसले विमानका इन्जिनमा क्षति पुर्याउन सक्छ, एयरफिल्डहरू प्रदूषित बनाउन सक्छ र दृश्यता घटाएर उडान सञ्चालनमा खतरनाक अवस्था सिर्जना गर्न सक्छ ।
भारत मौसम विज्ञान विभागका महानिर्देशक मृत्युन्जय महापात्रले भने,"प्रभावित उचाइ समुद्र सतहबाट ८.५ किमि अर्थात ५.२ माइल देखि १५ किमि सम्मको बीचमा छ। यसले केही समयका लागि उपग्रह सञ्चालन र उडान सेवामा असर पार्छ। तर मौसम वा वायु गुणस्तरमा ठूलो प्रभाव पर्ने सम्भावना छैन। यो हिजो बेलुका उत्तरी भारतमा पुगेको थियो र अहिले चिनतर्फ जाँदै गरेको देखिन्छ ।"
समुद्र सतहबाट करिब १ हजार ५ सय फिट उचाइमा रहेको यो ज्वालामुखी रिफ्ट भ्याली भित्र पर्दछ। जहाँ दुई टेक्टोनिक प्लेट भेटिने भएकाले तीव्र भू वैज्ञानिक गतिविधि हुने क्षेत्र समेत मानिन्छ।
भोल्केनिक एसएस एड्भाइजरी सेन्टरका अनुसार ज्वालामुखीबाट निस्किएको खरानीको बादल यमन,ओमान,भारत र उत्तरी पाकिस्तानसम्म पुगेको छ। केन्द्रले खरानीको बादल देखिएको नक्सा पनि सार्वजनिक गरेको छ।
खरानीका कारण एयर इन्डियाले कम्तीमा ११ उडानहरू रद्द गरेको जनाएको छ। आकासा एयरले पनि केही मध्यपूर्वका गन्तव्यतर्फका उडानहरू रद्द गरेको रोयटर्स समाचार एजेन्सीले जनाएको छ।
मिशिगन टेक्नोलोजिकल युनिभर्सिटीका ज्वालामुखी विज्ञ तथा प्राध्यापक साइमन कार्नले ब्लुस्काइमा पुष्टि गर्दै खरानीको बादल उप उष्णकटिबन्दीय जेट–स्ट्रीमसँगै तीव्र गतिमा पूर्वतर्फ अरब सागर हुँदै उत्तर पश्चिम भारत र पाकिस्तानतर्फ फैलिरहेको बताएका छन्।
अफार सरकारी सञ्चार ब्युरोले सार्वजनिक गरेको तस्बिरहरूमा लामो समयदेखि निष्क्रिय रहेको हैली गुब्बी ज्वालामुखीबाट बाक्लो खरानी निस्किरहेको देखिन्छ।
सोसल मिडियामा सेयर गरिएका भिडियोहरूमा पनि बाक्लो सेतो धुवाँ आकाशमा उठिरहेको देखिन्छ।
स्मिथसोनियन इन्स्टिट्युसनको ग्लोबल भोल्केनिज्म प्रोग्रामका अनुसार हैली गुब्बी ज्वालामुखीले होलोसीन युग अर्थात झन्डै १२ हजार वर्षमा कुनै पनि विस्फोट भएको अभिलेख छैन। कार्नले पनि ब्लुस्काइमा हैली गुब्बीको होलोसीन कालखण्डमा कुनै पनि विस्फोटको रेकर्ड छैन भनेर पुष्टि गरेका छन्।
विस्फोटका कारण कुनै मानवीय क्षति नभए पनि पशुपालनमा आधारित स्थानीय समुदायको अर्थतन्त्रमा ठूलो असर पर्न सक्ने बताईएको छ । अहिलेसम्म मानिस वा पशु–बस्तुको ज्यान गएको छैन तर धेरै बस्ति खरानीले ढाकिएका छन् र जनावरहरूलाई खान पाउने अवस्था कठिन भएको छ।
अफार क्षेत्र भूकम्पप्रति संवेदनशील मानिन्छ र एक स्थानीय बासिन्दा अहमद अबदेलाले एपीलाई आफूले ठूलो आवाज र कम्पन महसुस गरेको बताएका छन् ।