
युरोपेली एरोस्पेस कम्पनी एयरबसले आफ्ना हजारौँ विमानमा तत्काल परिवर्तन गर्न माग गरेपछि उडानहरू प्रभावित हुन सक्ने चेतावनी दिएको छ।यो कदम सूर्यबाट आउने तीव्र विकिरणले उडान नियन्त्रणका लागि अत्यन्त जरूरी डेटा बिगार्न सक्ने जोखिम पत्ता लागेपछि लिइएको हो।
करिब ६ हजार विमान प्रभावित हुने अनुमान छ जुन एयरबसको विश्वभरका कुल विमानको झण्डै आधा हिस्सा हो। तर तीमध्ये धेरै विमानमा साधारण सफ्टवेयर अपडेटमार्फत समस्या समाधान गर्न सकिनेछ।
युकेको विमान नियामक संस्थाले अपडेट प्रक्रिया सुरु गर्दा केही अवरोध र उडान रद्द हुने सम्भावना रहेको जनाएको छ।
इजिजेट,अमेरिकन एयरलाइन्स, डेल्टा एयरलाइन्स , एयर इन्डिया, विज एयर र एयर न्युजिल्याण्डले समेत उडान अवरोध हुन सक्ने चेतावनी दिएका छन्।
एयरबसले समस्या कसरी पत्ता लगायो?
यो समस्या अक्टोबरमा मेक्सिकोद्वारा संयुक्त राज्यतर्फ उडिरहेको जेटब्लु विमानमा अचानक उचाइ घट्ने घटना भएपछि पत्ता लागेको हो । त्यसपछि विमानले आपतकालीन अवतरण गर्नुपरेको थियो। त्यतिबेला प्राप्त प्रतिवेदन अनुसार करिब १५ देखि २० जना सामान्य घाइते भएका थिए।
यो घटना सूर्यबाट आएको तीव्र विकिरणका कारण भएको मानिन्छ जसले विमान नियन्त्रणमा प्रयोग हुने कम्प्युटरको डेटा बिगारेको थियो।
अब यस्ता समस्या दोहोरिन नदिन कदम चालिसकिएको जनाएको छ। विश्वभर करिब ६ हजार विमान प्रभावित भएको अनुमान छ। ती सबै A३२० मोडेल अन्तर्गत पर्ने विमान हुन् । जसमा A३१९ र A३२१ मोडेल पनि समावेश छन्।
एयरबसका अनुसार यी मध्ये अधिकांश विमानलाई साधारण सफ्टवेयर अपडेट मार्फत ठीक गर्न सकिनेछ। तर करिब ९ सय पुराना विमानमा कम्प्युटर नै परिवर्तन गर्नुपर्ने भएकोले ती विमान आवश्यक मर्मत सम्पन्न नहुन्जेल सेवाबाट हटाइने समाचार छ ।
-बिबीसी