काठमाडौं, मंसिर १४ :

इन्डोनेशियामा आएको विनाशकारी बाढी र पहिरोपछि ४ सयभन्दा बढी मानिस अझै हराइरहेका छन् ।

तीमध्ये धेरै जसो पहिरो सहित आएको बाढीमा पुरिएको आशंका गरिएको छ । करिब एक हप्ता अघि आएको चक्रवाती वर्षाले ठूलो जनधनको क्षति गरेको छ ।

सरकारी तथ्यांकअनुसार सुमात्रा द्वीपमा मृत्यु हुनेको संख्या ४ सय ४० भन्दा बढी पुगेको समाचार छ । हवाई तथा समुद्री मार्गबाट उद्धार सामाग्री पठाइए पनि धेरै गाउँहरू अझै सहयोगबाट वञ्चित छन् । कतिपय ठाउँमा मानिसहरूले बाँच्नका लागि खाना र पानी लुटपाट गरेको समेत रिपोर्ट आएको छ ।

थाइल्यान्ड, मलेसिया, फिलिपिन्स र श्रीलंकामा समेत भारी वर्षा र आँधीबेहरीका कारण ठूलो विनाश भएको छ । यसले लाखौँ मानिस प्रभावित बनेका छन् र समग्र क्षेत्रमा ९ सयभन्दा बढीको मृत्यु भएको छ ।

अत्यन्त दुर्लभ मानिएको उष्णकटिबंधीय तूफान साइक्लोन सेन्यारका कारण आएको बाढी र पहिरोले इन्डोनेशियामा व्यापक विनाश मच्चाएको छ । हजारौँ घर डुबानमा परेका छन् र थुप्रै संरचनाहरू बगाएको छ ।राष्ट्रिय विपद् व्यवस्थापन एजेन्सीका अनुसार आचे,उत्तर सुमात्रा र पश्चिम सुमात्रामा सर्वाधिक मानिस हराइरहेका छन् ।

यसैबीच केही अन्तर्राष्ट्रिय सहयोग पनि पुगेको छ । मलेसियाले आचे प्रदेशमा औषधि तथा स्वास्थ्यसम्बन्धी सामाग्री पठाएको पुष्टि गरिएको छ ।