काठमाडौं, मंसिर १४ :

श्रीलङ्कामा आएको बाढी र पहिरोका कारण कम्तीमा १ सय ९३ जनाको मृत्यु भएको पुष्टि भएको छ ।

श्रीलंकामा पछिल्ला केही वर्षयताकै सबैभन्दा ठूलो मौसमजन्य विपत्ति भएको बताईएको छ । विपद व्यवस्थापन केन्द्रका अनुसार २ सय भन्दा बढी मानिस हराइरहेका छन् । २० हजारभन्दा बढी घर पूर्णरूपमा क्षति हुँदा १ लाख ८ हजारभन्दा बढी मानिस अस्थायी आश्रयस्थलमा बस्न बाध्य भएका छन् ।

चक्रवात ‘डिट्वाह’ आएको केही समयपछि देशभर आपतकाल घोषणा गरिएको छ । करिब एक तिहाइ क्षेत्र विद्युत् र खानेपानीविहीन रहेको जनाइएको छ ।

केलानी नदीको पानी सतह तीव्रगतिमा बढिरहेकाले केही स्थानहरूमा सुरक्षित स्थानमा सार्न आदेश जारी गरिएको छ ।

सबैभन्दा धेरै मृत्यु क्यान्डी र बदुल्लामा भएको बताइएको छ जहाँ धेरै क्षेत्र अझै  सम्पर्कविहीन छन् ।

उत्तरी–केन्द्रीय जिल्ला कुरुनेगालामा अवस्थित वृद्धाश्रम डुवानमा परेपछि ११ बृद्धबृद्धाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

अनुराधापुरामा पानीले डुबाएको बसबाट ६९ जनाको सकुशल उद्धार गरिएको छ । २४ घण्टासम्मको उद्धारपछि नौसेनाले उनीहरूलाई नजिकैको भवनको छानामा उक्लिन सहयोग गरेको थियो ।

सरकारले अन्तर्राष्ट्रिय सहयोगका लागि अपील गरेको छ । विदेशमा रहेका श्रीलङ्कालीहरूलाई प्रभावित समुदायको सहयोगार्थ आर्थिक सहयोग गर्न त्यहाको सरकारले आग्रह गरेको छ ।

 

राष्ट्रपति पौडेलद्वारा श्रीलङ्कामा बाढीबाट भएको धनजनका क्षतिप्रति दुःख व्यक्त

राष्ट्रपति रामचन्द्र पौडेलले श्रीलङ्कामा हालै आएको बाढीबाट भएको धनजनको क्षतिप्रति गहिरो दुःख व्यक्त गरेका छन् ।

उनले आज सामाजिक सञ्जाल एक्समार्फत त्यहाँ भएको धनजनको क्षतिप्रति गहिरो दुःख व्यक्त गरेका छन् ।

“दुःख र कष्टको यो क्षणमा श्रीलङ्काको सरकार तथा जनताप्रति सहानुभूति प्रकट गर्दछु । सङ्कटको यो समयमा नेपाल सधैँ श्रीलङ्काका साथमा छ”, राष्ट्रपति पौडेलले उल्लेख गरेका छन् ।