
जनकपुर, मंसिर १७ :
मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादव विश्वासको मत नपाउने पक्का भएपछि राजीनामा दिन तयारीमा लागेका छन्।
बिहान साढे ८ बजेका लागि बोलाइएको प्रदेश सभा बैठक उनी स्वयं उपस्थित नहुँदा दिउँसो २ बजेसम्म स्थगित भएको छ। बैठकमा आफ्ना धारणा राखेर राजीनामा दिने उनको तयारी छ ।
१०७ सदस्यीय सभामा विश्वास कायम राख्न ५४ मत आवश्यक भए पनि एमालेसँग सभामुखसहित २५ सांसद (एक निलम्बित) मात्र छन्।
एमालेलाई नेपाल संघीय समाजवादी र राप्रपाको एक–एक मतको साथ भए पनि राप्रपाकी मन्त्री कञ्चन बिच्छाको पद नै संकटमा परेपछि गणित झनै कमजोर भएको छ।
यसका विपरीत सात दलीय गठबन्धनसँग ७३ सांसद भएकोले यादवले विश्वासको मत नपाउने सुनिश्चित बनेको छ। सर्वोच्च अदालतले २४ घण्टाभित्र विश्वासको मत लिन परमादेश गरेपछि आजको बैठक बोलाइएको हो।